Friday, 17 July 2015

आफ्नै डायरी : जन्मदिन ।


 
                                           


तिलखोरियाको पल्लो खेतमा धमाधम रोपाइँ भैरहेको थियो । साउनको झरी एकतमास बर्षिरहे पनि रोपाइमा किसानहरु रुझाईको पर्बाह नगरि खेतीमा तल्लिन भैरहेका थिए ।
भलायो र सालको पातमा चोयाले बुनेको घुम (स्याखु) ओढेका थिए सबैले, उन्ताका प्लास्टिक ओडने चलन थिएन रोपाईमा ।
सायद पाइदैनथ्यो होला पनि ।
दुईहल गोरु नारिएको,सात जना लाठे ब्याडे सहित अनि दशजना रोपाहारहरुले खेतमा असारे गीत घन्काउदा पल्लो लप्से गाउँ थरर घन्किन्थ्यो ।
ब्याडेले तल हिलिएको खेतका गहरामा माथीबाट हुत्याउने बिउका मुठाहरुले हिलाम्य भएका रोपाहारहरु किन्चित थकाई र रिस मान्दैनथे, अझै तिँ माथि दाँदे लगौदा हलीले छ्याप्ने हिलोमा निथ्रुक्कै भिजेर पनि असारे गीत जोडले गुञ्जिन्थ्यो, पातलेचौर सम्म !
रोपाहरहरु आफ्ना मनका बेदाना गीतमा घोलेर पस्कन्थे । मानौ यो रोपाईँ उनीहरुको पिडा ओकल्ने स्थान हो । माईती र घरका बिच हुने अन्तर गीत बाटै पोखीदिन सिपालु । न बाजा, न धुन हुन्थ्यो र पनि बिरहको भाका भरेर सासु, नन्द/आमाजुबाट भएका बेबहारलाई छरितो शब्दमा उनेर गाएका असारे गीत छरेखोला पारीको भित्तोबाट 'ईको' भएर ठोक्किदैँ कल्लेरी गाँउ सम्म मधुर ध्वनीमा सुनिन्थ्यो अनि  गाँउका बच्चाहरु पनि झरिमै रुझेर रोपाँइ खेल खेल्दै सिक्दथे असारे गाउन ।

पर्म परेली चलन थियो ।
पालै पालो गाउका दाजुभाईहरुको रोपाई गरिन्थ्यो । 'रेसिप्रोकल सिस्टमको' उदाहरण उन्ताका प्रसस्तै भेटिने ।
एकले अर्काको सहयोगमा गाँउभरिको खेत र बारीहरुमा किसानको पौरख झल्काउथे । मानौ उनीहरु अन्नका 'बिऊ' हैन, 'पसिना' रोपिरहेका थिए, 'रगत' रोपिरहेका थिए ।
पहाडी माटोको खेतमा ढुगांका गेग्र्यानहरु प्रसस्तै हुने । लाठेहरुका पाखुरी मज्जैले बजारिन्थ्यो । दबदबे हिलोमा रोपाहारहरु ढिलो भए भने हिलो क्षणभरमै बसिजाने, औँलाका टुप्पाहरु खियाएर हैरान हुन्थ्यो रोपाहरहरुको पनि । बिउ कम पसिना र मेहनत ज्यादा रोपिन्थयो खेत बारीमा । अनि परिश्रम अनुसारको उब्जनि हुन झन तेतिकै कठीन ।

उता तिलखोरियामा रोपाईँ चलिरहेको थियो ।
डाँडाको घरमा डाँडली आमै बेस्सरि चिच्याईन, वोल्लो पल्लो घरका सप्पै जहान बर्खे चटारोमा बेस्त थिए । उनको चिच्याई कसैले सुनेनन । पल्लो घरमा सुतेका उनका शसुरा उठेर हेर्न सम्म आएनन् केरे । उनको रोदन सुनेर रोपाइँ खेल खेल्दै असारे गीत गाँउदै गरेकी छोरी पार्बती आँगनबाट दौडिदै आई र आमासंगै बसी छेवैमा । परै बसेको छोरोले मेसो नै पाएन उस्की आमा किन चिच्याई चिच्याई रोईरहेकी छिन भनेर ! पार्बती भर्खर ९ बर्ष लाग्दै थिई । उस्को भाई छ बर्ष असारमा पुगेको । घरका जहान तेही तिलखोरियाको रोपाईमा पाखुरी मच्चाउदै कोदालीले खेतका डिलमा आली लाउदै थिए । आमालाई के भयो ति साना छोराॅोरीले थाहा पाएनन । बरु उनीहरु पनि रुन थाले आमा संगै ।
"आमालाई के भो" सोधी पार्बतीले ।
दुखाईको पिडाले छटपटिएकी उस्की आमालाई बोल्न कठीन भैरहेको थियो ।
"जा काली ,,,,,,तिलखोरियाको मेलामा ग'र ,,,,,,,,,बालाई बोलाई ल्या !" आमाले थोरै कनेर यत्ति बोलिन ।
पार्बती काली थिई । त्यसैले उस्को नाम पार्बती कम र काली ज्यादा थियो । आमाको रुवाईले बिझायो उस्लाई पनि  । बसेर ट्वाल्ल हेरिरहेको भाईलाई हातमा समातेर भनि
"हिँड तँ पनि मलाई साथी !"
पानीमा रुझ्दै एकोहोरो रुवाईमा दिदीभाइ दौडिए घरबाट ।
आलचौरेको घरमुनी पौडेलको घर हुँदै पानीमा अघि-अघी पार्बती र पछि पछि भाई दौडिरहे, खरबारीको मुनी बाटो भएर । घरबाट १५ मिनेट जति दौडिएपछि तिलखोरीयाको डिलमा पुगे उनीहरु । खेतमा असारे घन्किरहेको थियो ।

"असारे मास्को दबदबे हिलो छुनलाई घीन लाग्यो,
जेठीलाई छोडी कान्छीलाई ल्याँउदा नौ बीस रीन लाग्यो ।
हो होरी हो हो हो ,हो होरी हो हो हो ।"

"बा"
"ओ बा ,,,,,,,आ हो !"
चिच्याई काली बेस्सरी तलतिर फर्केर ।
अहँ ! सुनेनन् कसैले ।
पानी बर्षिएर घुममा बज्रिएको आबाज एकातिर र अर्को तिर असारे गीतको लहड । ति माथी कोदालीले हिलो सार्दा आउने ह्वाल्याल्ल आवाज !
तिलखोरिया माईला जोत्दै थिए । पल्लो कुनाबाट अर्को कुनामा पुग्दा कोही बच्चाले बोलाईरहेको मधुरो आवाज ठोक्कियो उन्का कानमा तर ठम्याउन सकेनन् ।
घाम मध्यान्न कटेर पर पुगि सकेको थियो । खाजाको बन्दो बस्त गर्न तिलखोरीया आमै रोपाई छोडेर माख्लो डिल उक्लिन । तर तलबाट फेरी बिउ चाईयो भनेर रोपाहरु कराए ।
माथी उक्लिन लागेकी आमै कुनामा भको बिउ लिएर तल्लो गहरा ओर्लिन फेरी ।कालीको चिच्याई फेरी कसैले सुन्न सकेनन् ।

काली जोडले चिच्याउदै थि ।
रुँदै फेरी बोलाई उस्ले
"बा"
"ओ बा हो !"
"बा,,,,,अ,,,,आ !"
उस्को भाई पनि बालाई बोलाऊदै थियो ।
कसैले नसुने पछि झन बेस्सरी रोएको आवाज निक्लियो उनीहरुको ।
अब बोलाऊन कम र रुने ज्यादा भैसकेको थियो ।
पानीले चुटेर लगलग कामेको ज्यान ।
लगाएको कपडाबाट चुहिरहेको थियो पानी ।
ज्यान भित्रै सबै पसेर होला भाईचै लुत्रुकै बस्यो डिलको भुईमा । कसैले बोली नसुनेर होला दिदीभाई संगै रोहिरहे ।
डिलबाट तल झर्न अफ्ठेरो खेतको कान्ला ओर्लनु पर्थ्यो । तिँ  माथी हिजो मात्रै रोपेको खेत । खेतका गहरामा खुडकिलो बाटो भए पनि पानी बगेर हिडन नसकिने थियो गौँडो ।
भाईलाई माख्लै डिलमा बस भनेर समा खसेको कान्लोबाट तल्लो गहराको खेतको कुनामा चिप्लेटीसंगै आई पार्बती,
र फेरी चिच्याई ।
"बा,,,,अ,,,,आ !"
बल्ल खेताहरुको कानमा कसैको बच्चा रुवाईको आवाज गुञ्जियो ।
हली माईलाले गोरु रोके र घुम माथी फर्काऊदै निधारमा टप्किएको पसिना र पानीलाई चोरअम्लाले सोरी भइमा फ्याँकेर हेरे माथ्लो डिलमा ।
"ए काली किन आको हँ पानीमा भिज्न ?"
झन उल्टै झपारे माईलाले ।
पार्बती अब बोल्न सकिन । रोई बेस्सरी ।
आमा रोएको सम्झी । भाई माख्लै डिलमा रोईरहेको थियो । पानीले भिजेर निथ्रुक्कै थियो । उस्को तल्लो गहरोमा ओर्लने आँट थिएन । त्यसैले माख्लै डिलमा रोईरह्यो उ ।
"बा"
"बा"
बोलाई रही पार्बतीले ।
झरीले आवाज स्पश्ट सुनिएन ।
पानी एकतमास बर्षिरहेको थियो ।
हली माईलाले गोरु तेहीँ छोडेर दुई कान्ला माथी गएर सोधे ।
"के भो काली किन आकी याँ भिजेर ?"
पार्बती अब झन बेस्सरी रोई ।
हिक्क हिक्क हिक्किदै भनि उस्ले
"माईला काका, आमालाई दुख्यो रे, रोईर'छिन बालाई बोलौनु भनेर आको म  ।"
हली माईला सिरिगं भए । हतार हतार कान्लो झरेर तल गए ।
तीन कान्ला माथीबाटै बोलाए उन्ले,
"ए, डाँडली दाई !"
खेतको पल्लो कुनामा आली लाऊदै पुगेका डाँडली दाईको कानमा माईलाको आवाज पर्यो ।
कोदालीको हिलोमाटो आलीमा ल्याह्प्प राखेर मास्तिर फर्कँदा मुसलधारे पानीका थोपा नाकमा बजारियो, अनि अनुहारै चिम्‍म पारेर मास्थिर हेरे, केही देखेनन् । बाक्लिएको झरिसंगै अलिक मास्थिरको आकृती धुमील थियो । तर माईलाले बोलाको आवाज कानमा हल्का पर्यो । अनि एक कान्लो माथ्याड उक्लेर सोधे,
"के भो माईला ?"
"ए दाई, घर जौ रे । छोरी लिन आईछे, भाऊजुलाइ गाह्रो भयो जस्तो छ !"

कोदाली कान्लामा ठोसेर उक्ले डाँडली दाई ।
माथी डिलमा पार्बती थिई । अर्को माथ्लो डिलमा छोरो थियो । पानीले ल्याफ्र्याक्कै भिजेर बालाई बोलाऊन आएका थिए उनीहरु ।
"के भो काली ?"
बाउले सोधे ।
न्याउरो मुख ला'र नाक खुम्च्याउदै बाउको मुखाँ हेरी कालीले ।
"आमालाई दुख्योरे, रोईरा'छिन ।"
एत्ति भनि ।
उन्ले कुरो बुझी हाले ।
"लु तिमोरु बिस्तारै आउ है, चिप्लेलौ बाटोमा ।"
यति भन्दै माख्लो डिलमा छोरीलाई उकालेर दौडिए उनी ।

पौडेलनी बज्यै भित्र खाजा तुल्याउने तरखरमा थिईन । खोयाको डोको बाईरै थियो । चिसा दाउरामा आगो बल्न धौ भा'भे र खोया लिन बाईर आईन पौडेल्नी बज्यै ।
डाँडली दौडिदै उन्कै घरमा आईपुगे ।
"लौन कालीकि आमालाई बेथा लाग्यो जस्तो छ, गै दिन परो ।" एकै स्वरमा बोले उनी ।
धुवाँउन लागेको अगेना छोडेर हिँडिन पौडेल्नी बज्यै पनि ।

***

कालीकि आमालाई सहि नसक्नु पिडा भो ।
ओल्लो मतानमा थिइन उनी ।पोहोर शसुरासंग अंशबण्डामा परेको घर । घर  त केभन्नु र मतान ।
 भुई तलामा एउटा जर्सी गाई, पाडो र दुई जोडी बाख्रा थिए । आगंनबाट ढुगें सिँढी लगाईएको थियो भर्यागं । खरले छाएको मतान ।
बर्खे झरिमा ओसिएर तप्प तप्प चुहिन्थ्यो पानी । डेक्ची, कसौँडी र खड्कौँलो थापिएका थिए पानी चुहिने ठाँउमा ।
बिहान खाना खाएर भाडाँ माझिओरी अंगेना लोटाउदा कुटुक्क पेट काटेको थियो  उन्को । जहानलाई मेला पठाएर घर धन्दामा बसिन उनी । बाह्र बजेपछि बेथाले च्याप्यो । झरी बेसरी ओहिरियो । कसैलाई बोलाऊन जानै सकिनन् ।एक बजेतिर झन सहि नसक्नु पिडा भो । थाम समातेर बसिरहिन । बाहिर खेलेकि छोरी र छोरो बोलाऊने समेत हिम्मत भएन । सार्ल्कसुर्लुकै परेको भान भयो ।
पेटमा बच्चा बसेदेखी कुनै दिन मिठो मसिनो खान पाकी हैनन् ।
घरमा दुहुनु क्यै थिएन । निस्तो ढिँडोमा ज्यानलाई आहारा भर्नु पर्ने बाध्यता थियो ।पाउना पाछा खुस पार्न पर्नि ।
 अझै सधैँ भरिको कामले तेतिकै खियाएको थियो ।
आफ्नो खेतमा जम्मा बिस बाईस पाथी धान फल्थ्यो । तेसैले दशैँ तिहार पुर्याउन पर्नि । भात खानलाई चाडै आउन पर्नि ।
उन्का शसुरा पल्लो घरमा सुतेका थिए । अँह ! मरे अएनन्  ।
ओछ्यानमा लडेकी उनी थाम समातेरै छटपटि रहेकि थिईन । गुन्द्री सोहोरिएर एकै ठाँउ गुजमुजिएको थियो र  चिथोरिएका थिए ठाउँ ठाँउमा ।

पौडेल्नी बज्यै संगै हस्याङ फस्याङ गर्दै कालीका बाउ मतान भित्र छिरे । असरल्ल छरिएका कपडाहरु संगै उनी खुट्टा पसारेर थाम समाउदै छटपटिरहेकी थिईन ।
पौडेल्नि बज्यैले ढाडस दिन आए पछि कालीका बाउ तल्लो घर गए ।
"काकी, ए काकी ?"
बाहिरैबाट बोलाए उन्ले ।
भित्र मकै पोलि रहेकी कान्छी काकी काखमा दुध चुसीरहेको कान्छो छोरो च्यापेर बाहिर आईन ।
"के भो, किन स्वाँ स्वाँ र फ्वाँ फ्वाँ नी ?"
एकोहोरो मकैपोल्नमा बेस्त भएकी उन्लाई बाहिरको बोलीले झसंगं झस्कायो ।
"काकी, कालीकी आमालाई बेथा लागेछ, जान परो ।" मकै पोल्दा दन्किएको आगोको दाउरा अंगेना बाट थुतेर अम्खोराबाट पानी छर्किन, चुह्लो ओरीपरी आकृती धुवाँले अँधेरो बनायो ।
अनि भित्र बाख्राको खोरमा झुन्डिएको घुम निकालीन काकीले । दुध चुसीरहेको छोरोलाई कोक्रोमा हालेर दैलो ढप्क्याउँदै उक्लिन माख्लो घर ।
पानी अझै धरर दर्कि रहेको थियो ।

***

साउन मैनाको १० गते बिहीबार दिउस लगभग साँढे दुई बजे तिर, भित्रबाट मसिनो स्वरमा एउटा रुवाई आयो । भित्र पौडेल्नी बज्यै, तल्लार काकी आमै र पुछारघरे काकी बोथा लागेकी सुत्केरीका अर्ग्यानिक सुडेनी बनेका थिए । कालीका बाऊ मतान बाहिर आँटीमा बसिरहेका थिए । काली भाईलाई लिएर आईपुगी सकेकी थिई । भएका थोत्रा लुगा खोजेर फेरीदिए उन्ले छोरा छोरीको । भित्रबाट पौडेल्नी बज्यै मुस्कुराउदै बाहिर आईन ।
"लु नानी अंश बाँडियो अब ! छोरो भएछ । कालीका बा खिसिक्क हाँसे ।उनी हाँस्दा अधबैँसे उमेरमै चाउरिएका गाला पनि हास्न खोजे तर ठाँउ ठाँउमा मुजा परेर आँखा चिम्सो भको झै देखियो ।
"भाग्गेमानी रच मोरो, दुईटा छोरों भै हाले गाँठे !" तल्लार कान्छी काकीले भित्रैबाट सन्देश भरिन ।

"खै के भाग्गेमानी भनुम र काकी, सुत्केरीलाई ख्वाउनी सार्दम छैन, पौष्टिक छैन,  चामल छैन ।"  निरस भावमा बोले कालीका बा ।
उन्को बोलीमा मिठास थिएन । थियो त अभाबको लप्को ! गरीब घरमा जन्मने बच्चाले पनि जन्मेदेखिनै अभाव बेहोर्नु पर्ने !
जन्मनु प्रकृतिको खेला हो । तर जन्माई स्थान र बर्ग बिशेषले फरक पार्ने ।

अचम्मको छ भगवानको लीला पनि, यस्तै ठाने उन्ले । छोरो जन्मनुलाई हिम्मतसंग तुलना गरिन्छ हाम्रोमा । पौरख संग, दाजिन्छ । अझै धार्मिक रुपमा त बंश परम्परामा स्वर्ग लाने बैतर्णी नदी तार्ने  जीम्मा छ छोरोको । र त छोरो हुनुमा गर्व गर्छन र छोराकै आषमा रहेका हुन्छन कैयन परिवार ।
भित्र साल नाल काट्ने तयारि चलिरको थियो ।
बाहिर उनी सोचमग्न भए ।
छोरो जन्मियो, अब पिरोलिए उनी !
के ख्वाउनी, कसरी हुर्कौनी ? चिन्तामा डुबे ।
आदी मेलो छोडेर आएको अब घरमा सुत्केरो भएसि फर्कने कुरा थिएन । रोपाईमा सबैले थाहा पाईहाले, डाँडलीको घरमा छोरो जन्म्यो भनेर ।
पल्लो घरमा सुतेका उन्का बा खोक्दै बाहीर निक्लिए । एक नजर डुलाए । निदालबाट पात निकाले खल्तिबाट बिँडी, अनि बेरे पातमा । अंगेनाबाट एक डल्लो अगो चिम्टाले च्याप्दै मुख सम्म पुर्याए अनि स्वु, स्वु गरेर ताने, लामो सासले बिँडी तान्दा मुखभित्र दाँत फुक्लिएर रित्तिएको गालामा परेको खोपिल्टो ठुलो देखिन्थ्यो ।

***

एक हप्ता पछि :

पुरेत आए । न्वारनको तयारी भो । पार्बतीले घरघन्दा सघाई । तल्लार काकी र पौडेल्नि बज्यै संगै आलचौरे दिदीले न्वारनको सार्दम तयार गरे ।
सबै प्रक्रिया संगै  नाम जुराऊनि काम भो ।
नामको पैलो अक्षर 'रो' ।
तुला राशी ।
स्वाती नक्षेत्र ।
मनुष्य गण ।
भाग्यमानी छ ।पडेर बिद्वान बन्छ । परिश्रमी ।परिवारको ख्याल गर्छ ।
दुख गरेर खान्छ । स्वदेश बिदेश घुम्ला !
धन कमौछ । चन्चले बानी परेको छ ।
२२ बर्ष देखी ३० बर्ष सम्म अलिक  शनी ग्रहको असर पर्न सक्च ।
सबैलाई माया गर्नि र मिलौन सक्नि क्षमता भएको छ ।
पात्रो पल्टाएर ज्योतिष पुरेतले भबिश्यबाणी गर्दिए । कालीकी आमा मुसुक्क मुस्कुराईन । काली आँखा टालिएको नवआगन्तुक भाईलाई काखमा राख्न हतारिएकी थिई । अर्को ठुलो छोरो एकतमास हेरिरहेको थियो चर्तिकला ।
पुरेतका कुरा सुनेर कालीका बा भर्खरै न्वारान गरेको छोरोलाई काखमा च्यापेर फेरी एकपटक मुसुक्क मुस्कुराए ....!
***

यसरी जन्मिएछु म ।
अभाबको बिचमा, बर्खे झरिलाई नियाल्दै ।
पिडाहरुमा बाँच्न सिकेका मेरा बा आमालाई मैले नमन गर्नै पर्छ । अभाबहरुको भलिभाँत चाँगं छिचोलेर मलाई हुर्काउने हिम्मत गर्नु भो । म सदा रिणी रहन पाउँ !
झरिमा कलिलो ज्यान रुझाई सहयोगी बनेकी मेरी दिदी पार्बती र दाजुलाई प्रेम गरिरहन पाँउ ।
सुत्केरी भएकी मेरी आमालाई सुडेनि बनेर सहयोग गर्ने सबै आमा, हजुरआमाहरुलाई धन्यबाद ।
न्वारनमा उर्जा भरेर सकारात्मक भबिश्यबाणी गरि मेरो परिवारमा मुस्कान र आत्मनिश्वास भर्ने मेरो गुरुलाई नमन : ।

~~ अस्तु !




No comments:

Post a Comment