Sunday 19 January 2020

'रिक्त-पृथ्वी संवाद'




-राम न्यौपाने



                                                                                    


घाँटीसम्म निहुरिएर उसले नमस्कार गर्‍यो ।दुईहातको संयोजनमा औँलाहरु टपक्क मिलेका थिए ।छाति नजिक टाँसिएका हातभन्दा मतिर अटल रहेका उसका नयनबाट मैले आफुलाई नतमस्तक बनाइ रहेको छु ।झुक्दा उसको दुईओठ गालासम्मको चौडाइमा फराकिएको थियो ।उसले ओठसँगै आफ्नो आँखालाई पनि मुस्कान दिलाउन सिकेको रहेछ ।
म किंकर्तव्यबिमूढ् उभिएरै नमस्कार विनिमय गर्छु ।उसकै चालमा मुस्कुराउँछु ।तर किन हो, मेरो नमस्कार र मुस्कानको सूत्र उसकोझैँ मिलेको पटक्कै हुन्न ।यो बेमेलताले मलाई आत्मग्लानीकासाथ पगाल्न सुरु गरिसकेको थियो ।प्रथमप्रहर सूर्यको ताप सहन गर्न नसकेर जुगलबाट हिँऊ पग्ले जस्तै, म पग्लदै झर्छु तल-तल बलेफीसम्म । अवाक् उसलाई ट्वाल्ल नियाली रहेको हुन्छु म । जसरी जुगलबाट पग्लिएको हिँऊ चिसिदै वहन्छ, म चेतनास्तरबाट ब्रह्मायणीझैँ चिसिँदै बहन्छु अनन्त समुद्रसम्म ।तर म समुद्रजस्तो विशाल कहाँ हुन सक्नु र !
-म 'पृथ्वी'।
उसले नमस्कारवत् रुपमै आफ्नो नामको परिचय दियो ।तर मिलाउन हात दिएन ।
बरु भन्न थाल्यो,
'हात मिलाउँदा आत्मिएता बढ्छ भन्ने पाश्चात्य शैलीको विरोध हैन, हाम्रो आफ्नै सनातन नमस्कार संस्कृतिको हत्या गरेर 'ह्याण्डचेकमा' रमाउने पाखण्डिपनको विरोधी हुँ म ! राष्ट्रिय चिह्नमा लालिगुराँसयुक्त मालाको बीचमा हात मिलाएको राष्ट्रिय चिन्हको तर्जुमा गर्नेहरुको बिरोधी हुँ ।'

उसले यति भन्दासम्म म नमस्कारमै मूर्तिवत छु ।मैले नमस्कारबाट एउटा हात झिकेर उसलाई दिने हिम्मत गर्न नसकेपछि उतर्फ हात लम्काउने कोशिसलाई रोकेँ । अब सिर्फ उसलाई देख्नु मेरो कर्तव्य बनेजस्तो हेरिरहेँ र केहि निमेषपछि परिचय दिएँ ।
-'म रिक्त' ।
'वा कस्तो मिठो नाम ! '
उसले आफ्नो मुस्कानलाई शान्त चेष्टामा राखेर मेरो नामको प्रशंसा गरेपछि भने म पुलकित हुनबाट बच्न सकिन ।
म त फगत 'रिक्त' हुँ ।बस् रिक्त । शून्यता ।जो पूर्णताहीन छ, ज्ञानहीन छ ।विलीनताको प्रतिक्षामा पृथ्वीको चलायमान संरचनाको बस एक कण् । तपाइ त पृथ्वी ! जोसँग परम्ब्रह्मको मेल छ ।आदि अस्तित्वको रुप ।पृथ्वी त भरपूर हो । सबथोक हो । पृथ्वीमा रिक्तता रहन सक्ला तर रिक्ततामा पृथ्वी अटाउन सक्ला ?
यसो भनिरहँदा मेरो आँखाले उसका आखाँ एकटक् देखिरहेको थियो ।एतिखेर ऊ मलाई कसरी असल श्रोता बन्न सकिन्छ भनेर सिकाइरहेको थियो।
मबाट हामीद्वयको नामरुपी व्याख्याघुलित् सवाल सुनेपछि भने बल्ल ऊ निस्वर मुस्कानबाट सश्वर मुस्कानमा उक्लिएको थियो ।
उसको हाँस्य रसले मलाइ पनि तान्यो ।ऊ मेरो अल्पज्ञानमा हास्यो या कथनलाई मजाक ठानेर हास्यो मैले ठम्याउनै सकिन । र पनि मलाइ उसँगै हास्न केहिले रोक्न सकेन ।
हामी दुवै सश्वरका साथ हास्न थालेपछि छेवैको बुट्यानमा बसिरहेको एक जोडी भँगेरा भुर्रर रुखभन्दा माथि उड्यो उचाइ-उचाइको खगोलतिर ।
                             
भुईभरि ढुङ्गाका मसिना दानाहरु पोखाईएका थिए ।पोखिएका थिएनन् ।साथमा थिए, छ-आठ बिरुवाहरु ।नाइलनका पञ्चरङ्गि डोरीबाट बनाइएका वेतका बाटुला पिर्काहरुले हामीलाई भुईमा बस्नबाट रोकेर आफुमा बिराजमान गराएका थिए ।छेवैमा फलामको झूलन थियो।एकजोडी प्रेमी खुट्टाको साहाराले मस्त हल्लिदै थिए, झूलनमा ।एउटा पुलिङ्गी दायाँ हात अर्को स्त्रीलिङ्गी बायाँहातबाट टमक्क कस्सिएको थियो ।र झूलन नवयौवन यामका मधूजोडीकासाथ झूलिरहेको थियो, चुईँ-चुईँ आवाज गरेर ।
म ति प्रेमीलाई कम पृथ्वीलाई ज्यादा हेरिरहेको थिएँ ।ऊ अझ पनि मुस्कुराउन छोडेको थिएन ।श्वास फेर्नु जस्तै मुस्कुराउनु पनि जीवनको अपरिहार्यता हो भनेर सिकाउदै थियो सायद । म उसको मुस्कानप्रति स्निग्ध थिएँ । ऊ शान्त थियो ।सौम्य ।तर म उसलाई देखेपछि विचलित भएको थिएँ ।चेतनाको स्तरबाट बिल्लिबाठ भएको थिएँ ।
'रिक्तजी'
मेरो नाम उच्चारण गरेर उसले आफ्ना दुई आँखा मेरा दुई आँखामा जुधायो ।र भन्न थाल्यो-
'मनुष्यलोक आदर्शको लेपनले आफुलाई समाहित गर्न चाहन्छ ।देखाउन चाहन्छ- म सच्चा छु, म अच्छा छु ।'स्ववादको' भयङ्कर डरलाग्दो चित्र मान्छेमा अमिट बन्दो छ ।'स्ववादले' पूर्ण हि पूर्णमिदमलाई' स्वीकार गर्न सक्दैन ।'बहुजन् हिताय, बहुजन् सुखायमा' स्ववाद तगारो बन्दै छ' ।उसले यत्ति भन्यो र आफ्नो दुई परेला शान्तसँग चलायो ।
उसलाई सुनेपछि म झल्यास्स ब्यूँझिएको थिएँ ।फेरि पनि ऊ शान्त थियो । सौम्य थियो।फेरि पनि म विचलित थिएँ । म आफैँले नभेट्टाउने गरि हराएको जस्तो भएँ ।
झन् ऊ मसँग नाम र ठेगानाको परिचयमा अल्मलिन चाहिरहेको थिएन ।
-'सायद मान्छेको परिचय नाम र ठेगाना होइन ।मान्छे पञ्च भौतिकतत्वको योजनमात्र होइन, शूक्ष्मातिशूक्ष्म मान्छे विचार हो ।उसको चेतना उसको परिचय हो ।उसको व्यवहार उसको परिचय हो ।'
उसले यति भनेपछि काँचको गिलासको चिया सुरप्प पार्‍यो र टायरमाथी अड्डिएको सिसाको टेबलामा शान्तसँग राखिदियो ।उबाट पोट्रेट भएपछि वाचालित शब्दहरुले पनि छुट्टै चित्र बन्ने मौका पाएको भान लागिरह्यो मलाई ।

उसले भनेको थियो-
मान्छेको शरीरमा आत्माको बास छ । आत्मा त शक्ति हो, ब्रह्मस्वरुपको शक्ति ।शरीरमा मात्र हैन रिक्तजी, 'आत्मा' चराचर जगतका हर कणमा बिराजमान छ ।
भगवानको लीलामा सजीव ठहरिएका प्राणीहरुमा भन्दा बाहेक अरुमा आत्मा हुन्छ भनेर कल्पना समेत गर्न सक्दिनथेँ म ।उसले मेरो कल्पनामाथी विजय प्राप्त गरेर तर्क थपि रहेको थियो ।म एकोहोरो दृष्टीमा अलमलिएको बेला उसले उदाहरणको फेहरिस्त सुरु गर्‍यो ।
'जस्तो कि सूर्य एउटै छ । जताबाट हेरे पनि एउटै ।तपाई सूर्यले परावर्तन गरेको आकृति आफ्नो पानी भरिएको घडामा हेर्नुस्, सूर्य त्यँहि देखिन्छ ।अर्कोमा त्यसैगरि हेर्नुस् फेरी देखिन्छ । त्यस्तैगरि हजारौँ घडा खडा गरेर हेर्नुस् हजारौँ सूर्य देखिन्छन् । लाखौँमा त्यसरी हेर्नुस्, लाखौँ देखिन थाल्छन्, अनगिन्तिमा ।आधुनिक विश्वले रेखाङ्कन गरि व्याख्या गरेका मुलुक जस्तो की- नेपाल, अमेरिका, जापान, चाइना, नर्वे, पेरू संसारको जुनसुकै कुनाबाट त्यसरी घडा बनाएर हेरे पनि त्यतिथान सूर्यको परावर्तन स्वरुपको आकृति देखिन्छ ।तर वास्तवमा सूर्य त एउटै हुन्छ ।त्यसैगरि परमात्मा पनि एउटै हुनुहुन्छ ।यतिबेला यो नभुल्नुस कि रिक्तजी, आत्माको अन्तिम गन्तव्य भनेको परमात्मासम्म जोडिनु हो ।र परमात्मा भनेको परमब्रह्माको शक्ति हो ।'
किन ? सोध्नु अगाडी नै उसले थप्यो, आत्माको न सिर्जना हुन्छ न त नाश हुन्छ । आत्मा एकबाट अर्कोमा सर्दैन पनि। बस् आत्मा जताततै हरेकमा व्याप्त छ ।
जस्तो की-
'हावामा छ, प्राण बन्छ ।
मनुष्यमा छ, चेतना बन्छ ।
ढुङ्गामा छ, अस्तित्व बन्छ ।
मन्दिरमा छ, आस्थामा पुजिन्छ।
नदीमा छ, चाल बन्छ ।
फूलमा छ, सुन्दरता भैदिन्छ ।
समुद्रमा छ, शान्त र विराट देखिन्छ ।
भौतिक वस्तुमा पनि छ र त मूल्य हुन्छ ।'
'यसैले रिक्तजी,
आत्मा परम्ब्रह्मको स्वरुप हो, परमशक्ति हो।आत्मा नाश हुने हो भने त यो जगत् नाश हुन्छ ।शृष्टि नाश हुन्छ ।त्यसैले आत्मा बिनाको ब्रह्माण्ड नै हुन सक्दैन ।ब्रह्माण्डबिनाको ब्रह्मा हुन सक्दैनन् ।ब्रह्मा बिनाको परमब्रह्मा हुन सक्दैनन् ।परमब्रह्माबिना केहि-कोहि हुन सक्दैन ।परम्ब्रह्माले ज्ञानको सिर्जना गर्छन् र तिनै ज्ञानीले विज्ञानको ।
जसरि घडाको पानीमा सूर्यको आवर्तित आकृति नदेखिने बित्तिकै सूर्य नै छैन भनेर भन्न सकिन्न, त्यसैगरि हामीले नदेख्दैमा आत्मा छैन भन्न सक्दैनौँ ।आत्मा छैन भन्दैमा परमात्मा छैन भन्न मिल्दैन, परमात्मा छैन भनेर परम्ब्रह्मा छैन भन्न कहाँ सकिन्छ र ? परम्ब्रह्मा छैन भनेर सृष्टी छैन भन्न सकिने त कुरै भएन ! यध्यपी, परम्ब्रह्मा सम्मको यात्रा बहुत कठिन छ । उसैगरि परमात्मा सम्मको यात्रा पनि । हाम्रो स्थूल शरीरले त्यो भीमकाय यात्रा तय गर्न कठिनतम् तपमा लीन हुनुपर्छ ।आफूलाई सुक्ष्म शरीरमा ढाल्नको लागी मनुष्यजनले हाम्रा ऋषीहरुबाट दिव्यज्ञान प्राप्त गर्न सक्छन् ।'
यतिविध्न मिहीन कुराको अर्थ बुझ्नलाई मेरो सामर्थले भ्याइरहेको थिएन । र पनि उसले आफूलाई नरोकि ब्याख्यामा बगाइरह्यो ।पोतिरह्यो शब्दको 'पोट्रेट' ।

                                   

मैले उसलाई पहिलो पटक भेटेपछि दोस्रो पटक भेट्ने उत्कट इच्छा जगाएको थिएँ । अपरिचयाक खण्डको भेटमा हामीले नेपाली राजनीति र साहित्यका एक सिद्धहस्त बिपिबारे छलफल गरेका थियौँ, अनि पूर्वीय दर्शनबारे ।
बिपिलाई सारंशमा म चिन्दछु ।तर पूर्वीय दर्शनमा मेरो कमजोरीले सगरमाथा जत्तिकै उचाई ग्रहण गर्छ ।म पूर्वीय वाङ्मय र वेदान्त दर्शनमा चाख राख्दछु ।तर मेरो अल्छीपनले मलाई यो विधामा अगाडी नबढ्न सदैव साथ दिइरह्यो ।म झन्-झन् कमजोर बनिरहेँ ।
म पृथ्वीतिर केहि जिज्ञासाहरुको भावले आँखा तन्काउछु ।जसरी निराकार वायु वरिपरी हुन्छ, उसको मुहारमा मुस्कानले वरिपरि साथ दिएको देखेर मलाई स्वानन्दको अनुभूतीले मात दिलाई रहेको थियो ।
हाम्रो औपचारिक परिचयसँगै केही विषयहरु घटित् भैसकेका थिए । पूर्वीय दर्शनबारे केहि सिक्नु थियो मलाई।उसले संस्कृत भाषाबारे केहि बताइदिए जाति हुन्छ भनेर मैले भनिसकेको उसको स्मरणमा होला भनेर उसका बाँकी कुरा सुन्न तयार थिएँ ।
उबाट केहि जान्नुपर्ने परनिर्भरपथको याचनामा लिप्त थिएँ म ।नितान्त ज्ञान रिक्तताको खल्लोपनमा आफूलाइ घोलेर उदाङ्गो बनेको जडवस्तु भन्दा अर्थोक हुन नसक्नु मेरो जीवनको कमजोरी थियो ।
यो कमजोरीबारे मैले मुख खेलेपछी उसले भन्न थाल्यो-
'हुन त, मान्छे आफ्नो कमजोरी लुकाउन चाहन्छ ।र दुनियालाई भए नभएको फोस्रा आडम्वर थपथाप पारि पस्केर अह्लादित् हुन श्रेयष्कर ठान्दछ ।
म अलिक भिन्न  छु यो मानेमा । मलाई आफ्नो कमजोरीमा अरु होइन, पहिला आफु हाँसेको मन पर्छ ।' उसले यत्ति भनेपछि  मुसुक्क हास्यो।यसपटक ऊ मेरो कमजोरीमा हाँसेको होला भनेर लाजले तातो मुहार बनाएँ ।
ऊ पुनः चुपचाप सौम्यता प्रदर्शन गरेर मलाई हेरिरहन्छ।सायद उसले आफ्नो मस्तिष्कबाट सञ्चारित भाव बाहेक मेरो नतमस्तकता मात्र नियाल्छ जस्तो ठान्दछु म !

बानेश्वरको कोलाहल वातावरणबाट अलिक तल बाग्मती सललल् बगिरहेछिन् शङ्खमूलतिर।आफूमात्र नबगि, किनार छेउछाउका फोहोरका डङ्गुर लिएर बग्छिन् र त नेपालीकण बाग्मतीप्रति अनुग्रहीत बन्दो छन् ।तसर्थ न बाग्मती गङ्गावतारमा पूजिन्छिन् ।
बाग्मती किनारमा रहेको चिया दोकान् हो मेरो र पृथ्वीको शब्द वाचालको थलो ।चियाको चुस्किको मिठासभन्दा उसको आवाजको मिठासमा भुल्नमा छुट्टै मजा लागिरहेको थियो ।चिया त फगत बहाना हो।भेट्नुमा मज्जा त उसलाई छ । सुन्नुमा आनन्द छ त उसका रङ्गिन शब्दहरु ।
बाग्मतीतर्फ हेरेरै ऊ बोल्न थाल्छ –
'बाग्मती आफैँमा निरन्तरताको बिम्ब हो रिक्तजी ।'
म उसलाई सुन्न अजपा गायत्रि मन्त्र जप्न थाल्छु ।२२ हजार ६ सय पटक पुर्‍याउनु त छँदै छ 'स्वहंश' !
'कार'को शक्तिले हाम्रो लीला सञ्चालनमा छ ।परमब्रह्मको श्रृष्टिबाट उत्पन्न छन् चराचर जगत् । वेद रचयिता ब्यास यहिँका हुन् ।व्याकरणका आदिज्ञाता हाम्रै पाणिनी हुन् ।बुद्ध शान्ति खोज्न यहि भूमीबाट हिँडेका थिए ।'
लघुताभाषले थलिएको देखेर होला उसले मलाई हाम्रो महत्त्वबारे शब्द-शब्दको माला उनेर पहिर्‍याउँदै थियो ।
'बाग्मती जस्तै हौँ हामी । आफैँमा विकृत होइनौँ । तर बग्ने क्रममा शहरबाट फालिएका सबचिज बोकेर बग्नुको नीयति बाग्मतीले झेल्दछ ।मान्छेले भए सक्थे होलान ?'
सायद आफैँलाई यो प्रश्नले हिर्काएको थियो उसले, या मलाई अथवा हामीलाई म नितान्त रनभुल्लमा पर्छु ।
'एभालाञ्जा' पछि सोहोरिएको हिऊँको डल्लो लिएर समुन्द्रको यात्रामा लम्केको नदीको गतिमा ऊ पुनः बगिरहन्छ, शब्दका साथ।
'बाग्मतीले जस्तै निरन्तरता र धैर्यता राख्ने हो भने हामी पनि शुद्ध हुन सक्छौँ । नत्र चोभार कटेर केहि तल पुग्दा बित्तिकै पुनः सङ्ग्लो बनेर बग्न हामीलाई कसले सिकाउछ र ! जीन्दगी र नदी उस्तै लाग्छ रिक्तजी मलाई ।'
यति भनेर उसले आफ्नै गतिमा मुख बन्द गरेर नाकले लामो श्वास फेर्छ र चोभार मुनि पुगेको बाग्मती जस्तै सङ्ग्लिन्छ ।शब्दका रङ्गहरु सकेपछि फेरि मुसुक्क मुस्कुराउँछ । त्यस बखत किन हो उसले आकास नियालेको देख्छु म ।मेरा अकिञ्चन रहरको क्यानभास रङ्गिएर उसका शब्दले नूतन ज्योति प्राप्त गरको अनुभूतिमा म पनि मुस्कुराउँछु । यतिबेला उसको र मेरो मुस्कानको सूत्र मिलेको आभाष हुन्छ मलाई र बिस्तारै आँखाको दुई परेला चलाउँछु ।
यो वाचलताको अन्तमा मैले उसको छातीसम्म निहुरिएर नमस्कार गर्छु अनि,
'अहं ब्रह्मस्मि'कासाथ मुस्कुराउँदै बिदा हुन्छु।

@riktanpn

Wednesday 13 March 2019

समृद्धिको यात्रामा सहयोगापेक्षीको जाम




-राम न्यौपाने
गत साता मंगलबारको बिहान ७ बजेर ३० मिनेट गएको थियो ।प्राध्यापक अध्यापनमा व्यस्त थिए, यतिकैमा एउटा ब्यानर र सहयोग लेखिएको दुईओटा कार्टुनका बाकस सहित केहि युवाहरु कक्षा-कोठामा प्रवेश गरे र ती मध्येका एकजनाले 'आफ्नो भाईलाई ब्लड क्यान्सर भएको तथा उपचार खर्च नपुगेकाले सहयोगको लागि आएको जानकारि प्रस्ट्याउदै अपिल गरे', अनि ति बाकस लिएकाहरु अपेक्षाकृत भई बिद्यार्थी बसेका बेन्चतिर पुगे । यस्तो हुदा क्लास पुर्ण रुपमा पढाईमा भन्दा सहयोगमा अलमलिन पुग्यो वा सरल भाषामा भन्दा पढाईमा बाधा पुग्यो । यस्तो संवेदनशील समस्या भोगेका बेला असंवेदनशील कुरो गर्नु पर्छ भन्ने आषय यो लेखको कदापि होईन । यस्ता खाले सहयोगबाट समस्याग्रस्त व्यक्तिहरुमाथि राहत पुगेको कुरालाई पनि नजरअन्दाज गर्न सकिन्न ।
त्यसको केहि घन्टा बित्न नपाउदै अर्को उस्तै प्रकृतिका युवाहरुको टोली पूनः क्लासमा आईपुग्दछ । उनीहरुको भनाई अनुसार एकजना शिक्षकलाई गम्भिर प्रकृतिको रोगले थला पारेको हुँदा उपचार गर्न आर्थिक सहयोगको लागि अपिल हुन्छ । उसैगरि ति बाकस बोकेका मित्रहरु बेन्च-बेन्चमा आर्थिक सहयोग उठाउन पुग्दछन् । यो त भयो नेपाल ल क्याम्पसको पढाई भैरहेको क्लासको दृष्य ।
यि खाले दृष्यहरु शहरका प्राय फुटपाथ, गल्लि र चोकहरुमा सर्बत्र फैलिरहेको देख्न सकिन्छ । यस्ता दृष्यहरु शहरमा बसोबास गर्नेहरुको दैनिक जीवनको पाटो हो ।
शडकमा सवारि साधन जाममा परेका बेला होस या मन्दिरका छेउछाउ मात्र नभइ, लामो-छोटो यात्राका लागि रोकिने बसपार्क, बस-स्टेसन र यात्रुको बढि जमघट हुने स्थानहरु सुन्धारा, काठमाण्डौ मल, एनएसी, रत्नपार्क, कलंकि, बानेश्वर, कोटेश्वर वरपर आदि छेत्रमा दृष्टिविहीन, मिर्गौला पिडित, शारीरिक अशक्त भएका तथा शारीरिक रुपमा क्षतबिक्षत् भएको जस्तो पारेर रगत नै लटपटिएको पट्टि बाँधि पलल्टिरहेका कयौँ सहयोगापेक्षीहरुको लर्को जताततै देख्न सकिन्छ । 'फलानो बचाऔँका' नाममा शडक पेटीमा हिडनेलाई बाटो छेकेर सहयोग लिने प्रचलनको बिकसित रुप देख्नेमा हामी भुक्तभोगी हौँ । यस्ता खाले सहयोग दिने र लिनेमा नेपाली नागरिकहरु सायद अन्य मुलुकका नागरिकका तुलनामा अब्बल रहेका छन् भन्दा अतियुक्ति नहोला।
हुन त सरकारले नै 'लगानि सम्मेलन' आयोजना गरेर आर्थिक सहयोग माग्ने पेशालाई अपनाएको देशमा नागरिक तथा गैह्र-नागरिकहरुले (यहाँ गैह्र-नागरिक भन्नाले नेपालभन्दा बाहिरी मुलुकका ब्यक्तिहरु संगठित\असंगठित रुपमा नेपालमा बसेर माग्ने पेशामा आवद्ध भएकालाई जनाउदछ) यसरी सहयोग लिएर समस्याको समाधान गर्न खोज्नुलाई सामान्य रुपमा पचाउन सकिने बिषय हो । तर पनि राज्य तथा प्रशासनिक निकाय यो बिषयप्रति गम्भिर नहुनुले भने ठुलो अर्थ राख्दछ । यस्ता सहयोगापेक्षीहरुका शारीरिक-अंगहरु पूर्ण तथा आंशिक रुपमा काम गर्न नसक्ने हुदा उक्त व्यक्तिमा परेको पीडा तथा कष्टप्रति भने लेखक सचेत र संवेदनशील छ । तर यहाँ उठाउन खोजिएको बिषय भनेको त्यस्ता व्यक्तिहरुले सहयोग लिन नपाउने भन्ने नभएर यस्तो अवस्थाका नागरिकहरुलाई राज्यले कसरि लिएको छ वा यस्तो समस्याग्रस्त नागरिकलाई व्यवहारतः राज्यले कसरी सम्बोधन् गरिरहेको छ भन्ने हो ।
नेपालको संविधान भाग ३ धारा ४३ ले 'सामाजिक सुरक्षाको हकको' अन्तर्गत - "आर्थिक रुपले बिपन्न, अशक्त र असाहाय अवस्थामा रहेका, असाहाय एकल महिला, अपाङ्गता भएका, वालवालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ" भनेर मौलिक हकमा व्यवस्था गरेको छ ।यदि उनीहरु संविधानले व्यबस्था गरेको मध्यभित्र पर्दछन भने त्यो समस्याको समाधान गर्नु राज्यको दायित्व हो, उक्त दायित्व पुरा गर्न सरकार संविधानतः बाध्य छ । तर संविधानले व्यबस्था गरेको जस्तो अवस्था ति सहयोगापेक्षीहरुको हैन भने यो पेशा गर्ने अधिकार कुनैपनि संविधान तथा ऐन कानूनले नदिएकोले उनिहरुलाई तुरुन्त यस्तो कार्य गर्न-गराउन राज्यले रोक्नु पर्दछ । यो व्यवस्थालाई कार्यान्वयन गर्नकालागि बनेको सामाजिक सुरक्षा ऐन २०७५को प्रस्तावनामा नै नेपालको संविधान बमोजिम आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले भन्ने उल्लेख भएबाट यि बिषयलाई सारभूत कानूनका रुपमा मात्रै राखिदिएको अनि समस्याको समाधानमा भने व्यवाहारतः गर्न नसकिरहेको अवस्था भने बिध्यमान छ । अथवा यो सुबिधाका लागि ति व्यक्तिहरु राज्य समक्ष नगएका पनि हुन सक्छन् ।यसो भनेर राज्य त पन्छन मिल्दै-मिल्दैन, अझ यो दुईतिहाइको सरकार त झनै पन्छन मिल्दैन ।
नागरिकलाई कम भन्दा शासन गरेर बढि भन्दा बढि सुबिधा दिनु राज्यको दायित्व हो , यो नै सक्षम् तथा उच्चतम् लोकतन्त्रको अभ्यास हो । तर हाम्रोमा यसको ठिक बिपरित भैरहेको छ ।नागरिकमाथि बढि भन्दा बढि शासन गरेर कम भन्दा कम सेवा सुबिधा दिने र आफुचाहि बढिभन्दा बढि सेवा सुबिधा उपभोग गर्ने होडबाजीमा हाम्रा राज्यका अंगहरुमा आसिन ब्यक्तिहरु लागि परिरहेका छन् । लोकतन्त्रमा यो खाले उल्टो यात्राले देशलाई समृद्धि तिर नलगेर सखाप तिर लैजान्छ । जसको उदाहरणका रुपमा राष्ट्रपति, उपराष्ट्रपतिले सुबिधा नपुगेको भनि बारम्बार राज्यलाई जानकारी गराएको होस वा बिलासिताका लागि खरिद हुने महंगा साधनहरु हुन् वा संघ तथा प्रदेशका सभामुख, मन्त्री, बिधायक, बिभिन्न अंगका पदाधिकारी, स्थानीय सरकारका प्रमुख, उप-प्रमुख देखि अन्य पदमा आसिन अधिकारिहरु सबै आफैलाई मात्र सुविधा नपुगेको भनि अलापि रहेको समाचारहरु आईरहेकोबाट होस या लिईरहेका दोहोरो सुबिधाहरुबाट प्रष्ट हुन सकिन्छ कि, नेपालमा बिधीको शासनको खिल्लि उडि रहेको छ । जनताले तिरेको करमा उच्च पदासिन व्यक्तिहरुले गरेको रजाँईले नागरिकका लागि सरकार भन्दा, ति उच्चासिनका लागि चाहिने सुविधा दिन कर तिरिदिने नागरिकका रुपमा जनता परिणत हुन बाध्य छन् ।
नागरिकले तिरेको कर त राज्यको समृद्धिमा पो लगाउनु पर्ने हो तर आफ्नो सुविधा बढाएर नागरिकमाथि झन ब्यय थपिदिने राज्य संयन्त्रले देशमा अझ धेरै सहयोगापेक्षीहरुको बृद्धि गराउदछ । यसरि देशलाई मगन्तेहरुको भिड बनाउन राज्य आफै उद्धत रहेको देख्दा अचम्म मानेर बस्नु पर्ने अवस्था बिद्यमान रहनुले देशलाई समृद्धिको गन्तव्यतिर लैजानेमा विस्वस्त हुन सकिदैन ।कान्तिपुर दैनिकमा २९ फाल्गुन २०७५ प्रकाशित राम गुरुङ्गको 'सुख हार्ने समृद्धिको' आलेखबाट पनि यस बिषयमा झन प्रस्ट हुन सकिन्छ ।
एउटा ब्यक्ति तथा संस्थाले रंगशाला बनाउन, बस्ति बनाउन, स्वास्थ-संस्था बनाउन, स्कुल कलेज बनाउन देश-बिदेशमा हार गुहार गरेर सहयोगको बिलौना गर्दछ । राष्ट्र र समाज हितकालागि यसरि सहयोग गर्नु नराम्रो नभए ता पनि केहि व्यक्तिले जनतासंग मागेर बिकास गरेको देखाउनु र चर्चा कमाउन खोज्नुलाई भने राज्य सञ्चालनको असफलताको रुपमा बुझ्न सकिन्छ ।यो प्रक्रियाले देश बिकासमा राज्य कमजोर रहेको तथा जिम्मेवार नरहेको र व्यक्तिको प्रभाव बढेको स्पष्ट देखाउछ ।
सामाजिक-सञ्जाल, सञ्चार माध्यम, शडकका पेटी, मन्दिरको प्राङ्गण तथा महा-यज्ञको आयोजना गरेर जताततै मगन्तेहरुको बिकास गर्ने कि, देशमा यस्ता खाले सामान्य रुपमा हल गर्नसक्ने व्यक्तिको शारीरिक अस्वस्थताको समस्याको उचित उपचार तथा बिकासे कार्यमा सरकारले तुरुन्त योजना बनाएर कार्य थालनि गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो, न कि सरकारको मौनता, लाचारि र गैह्रजिम्मेवारीपन !
झनै त्यस्ता सहयोग माग्ने कार्यक्रममा सरकारको प्रमुख रहेको व्यक्ति नै प्रमुख अतिथि बनेर खुसि हुदै स्याब्बासी दिने कुराले सरकारको यात्रा उँधोगतीतिर लागिरहेको भान हुन आउछ । देश बिकास गर्ने स्पष्ट खाका र सक्षम् नेतृत्व नहुदा भोग्नु पर्ने कैयन यस्ता समस्या झन विकारल बनेर हामीमाझ आईरहने छन् । संविधानको धारा ४३को व्यवस्थालाई त पुर्ण रुपमा कार्यान्वयन गर्न-गराउन नसक्ने, सडकका खाल्डा-खुल्डी आफै पुर्न नसक्ने सरकारले स्याटेलाईट, पानी-जहाज र रेल ल्याउने गफ दिनु हास्यास्पद बिषय मात्र हो ! यस्ताखाले बिकास भैहाले पनि नागरिकले सास्ति भोगिरहन पर्ने र नेता तथा उच्चासिनले बढि-भन्दा बढि सेवा-सुबिधा लिईरहने हो भने रेल, पानी जहाज, स्याटालाईट ल्याउनुको के अर्थ रह्यो र ? नागरिकले पैसाको अभावमा शडकमा मागेर हिड्नु पर्ने, मागेर नै रंगशाला, वस्ति, शैक्षिक तथा स्वास्थ संस्था अनि रंगशाला बनाउनु पर्ने हो भने सरकार तथा प्रशासनिक निकायको के काम हो ? भन्ने प्रश्नहरु कठोर बनेर उपस्थित हुन्छन् !
एकपटक नेता तथा प्रशासनिक निकाय\कायार्लयको प्रमुख बने पछि कहिल्यै जनता बन्न नहुने चरित्रले राज्य संयन्त्रमा उनिहरुको संधै हालिमुहाली हुने तथा राज्यका प्रमुखहरु ऐयासी जीबनमा रमाउन थप सुविधाभोग गरिरहने तर एउटा कुनै व्यक्तिले मागेर बिकास गर्न पर्ने तथा माग्ने पेशालाई संस्थागत बानाएको अवस्था रहदा राज्यले पुरा गर्नु पर्ने दायित्वको भार नागरिकमाथि पर्ने हुदा यसरि सरकारले ल्याउने रेल र पानी-जहाज तथा भू-उपग्रह जस्ता बिकासे घोषणाले वास्तविक अर्थमा देशको बिकास भएको मानिदैन, बरु झन बैदेसिक ऋण थपिदै जाने र देशका हरेक भागहरुमा माग्नेहरुको प्रतिस्पर्धा चलिरहने र राज्य असफल बनि रहने छ । तसर्थ राज्य बेलैमा यस्ता बिषयहरुमा संवेदनशील बनि लोकतन्त्रमा जनताको प्रश्नको सम्मान गरि नागरिकका पीर मर्कालाई संबोधन गर्नेतर्फ लाग्नु उचित हुन्छ ।


Monday 13 August 2018

रित्तिदै गरेको गाउँबाट





-राम न्यौपाने


पात्लेखोला वन बाक्लिएको छ अचेल । र्छछरे, डाँडीकटेरी तिर मस्त हरियाली सजाएर रमाएको छ पाखो । चिलाउने डाँडोबाट उसैगरि झुल्किन्छ घाम । लप्सेखोलाको सुसाई पनि जोडले सुनिन्छ अचेल । सेल्तापको पाखो हुदै भोटफुल्पिङ्गको टुप्पोतिर फैलिएका छन् घामका किरणहरु, चौतारा देखि इर्खु सम्म ।
घामको असमान फैलाईप्रति मेरो बिद्रोही चेत जुरमुराउछ अनायसै । गैह्रा र खाल्डो परेका भू-भागहरुमा फैलन किन कठीन मान्छ घाम ! किन पहाडका टाकुराहरुमा सुरुमै र्स्पर्श गर्छ कीरण ? किन बेशी र्झन ढिलो गर्छ घाम ? सायद यस्ता सवालहरु पुष माघको ठिहीमा आकर्षक हुन्थे होलान् । तर वर्षायामको यो गर्मीमा यी वैमनष्यहरुले कुण्ठा बनेर मलाई घोचिरहन्छन् । चिमोटी रहन्छन् । पछारी रहन्छन् । थचारी रहन्छन् ।

घामको असमान फैलावट भन्दा प्रकृतिको असमान वनावट र वितरण प्रतिको बिरोध हो मेरो । असमान भूगोल प्रतिको बिरोध हो । किन सबैतिर समान छैन भूगोल ? किन समथर मात्र छैन भूगोल ?  किन उब्जाउशील मात्र छैन जमीन ? मलाई सिधा प्रश्न गर्न मन छ भूगोल निर्मातासंग । यदि भूगोल समान हुन्थ्यो भने सबैतिर समान तवरले मान्छेको बसाई हुने थियो । गाउँ रित्तिन्‍नथ्यो । मान्छे रित्तिन्‍नथे ।मनमनै ठोकुवा गर्छु, भूगोलको असमानता पनि बर्ग निर्माणको कारण हो ।
आह्हा कति राम्रा रहरलाग्दा प्रश्नहरु छन् मसंग ! बेकारका बिरोधहरु छन् । खैर यी प्रश्न र बिरोधहरु उत्पादन हुनुको कारणबारे लेख्न खोज्दै थिएँ आफुलाई बहकाएछु ।
म भन्न खोज्दै थिएँ की, म गाउँमा छु । वर्षाको याम छ । रोपाईका लागी केहि दिनको पाहुना बनेर गाउँ प्रवेश गरेको छु । रोपाईको चटारो सबैको घरदेखि बारी र खेत सम्म हतारो गर्दै छ । मानौ हतारो बिनाको जिन्दगी छैन अचेल । मानौ हतारो बिनाको जीवन छैन अचेल । मानौ हतारो बिनाको किसान छैनन् अचेल ।  मानौ हतारो बिनाको गाउँ छैन अचेल । सबैको थाप्लोमा नाम्लो अड्डएिको जीवन छ । आखिर किसान जुरमुराउने बेला हो वर्षा । अनि मानो रोपेर मुरी फलाउन कर्म गर्ने  याम हो वर्षा । के बृद्ध, के स-साना केटाकेटी ! सबैका थाप्लोमा गच्छे अनुसारको भारी छन् । सबैका थाप्लोमा मकै, ढोड्, घाँस अनि सोत्तरका भारीहरु अल्झिएका छन् । म ति सबै थाप्लोहरुमा जिन्दगीको भारी पनि अल्झिएको देख्छु । आखिर किसानको जिन्दगी नै भारीहरुले त बेरिएको हुन्छ ! दुःखका भारी । पीडाका भारी । परिश्रमको भारी । जीवनका भारीहरु.....

गैह्री मुनितिर तल्लाबारी (पहिला बारी थियो पछि खेत बनाइएको) खेत छ । खेत रोप्नु अगाडि आली काट्ने, कुनु खोस्रने र झार सफा गर्ने चलन छ । आली बाले काटिसक्नु भएछ । ढोड् पन्छाउने र कुनु खोस्रने जिम्मा मैले लिएको छु । म कुनु खोस्रदै थिएँ । दुइ तीन कान्ला मुनि ७६ बर्षीय आलचौरे हजुरबा लक्ष्मिकान्त न्यौपाने आली काट्दै थिए । अलिक माथ्याड ७० बर्षीय पल्लावारी हजुरबा छवीलाल न्यौपाने ढोड छिमल्दै थिए । पाल्यावनको बाटो हुँदै ६९ बर्षीय गैराघर ठूल्दिदी वेदमाया पौडेल  ढोड मकै खेप्दै थिइन । अलिक माथी १४ बर्षीय भाइ शुभाष खेतमा आली लगाउने लाठे बनेको थियो । बाटागह्राबाट ९ बर्षीय नानी प्रशिका न्यौपाने डोको भरी मकै बोक्दै थिइन् । गाउँको यथार्थ हो यो । गाउँमा जीवन अड्याउने मान्छेहरुको उमेर, कि त सत्तरी वरपरका बृद्ध छन् कि त स्कुले भुराभुरी । यिनैले त अड्याइदिएका छन् गाउँ । जति छन एकदमै कम छन् । गाउँमा लाठे घटे । रोपा'र घटे । अब त यसरी घट्नेहरुको प्रतिस्पर्धा चल्दै छ । गाउँ सुनसान बन्दै छ । बारी र खेतहरु सुनसान बन्दै छन् । सायद आघौँ र पराघौँ गाउँबाट मान्छे घट्नेक्रमको फेहरिस्त झन बढ्ने होला !

एक ठाउँबाट अर्को ठाउँको स्थानान्तरण परम्परा देखिको रीत हो । अचेल पो गाउँबाट शहर छिरेसि मान्छे अल्छिमा बदलियो ! हाम्रा पुर्खाहरु पनि गाउँमा कतै न कतैबाट स्थानान्तरण हुदै आइपुगेका हुन् । तर याहाँ आउनुको ध्यय भने कर्मसंग थियो । पुर्खाहरु कर्ममा विश्वास गर्थे र जता पुगे पनि कर्म गर्न छोड्दैनथे । मुल कर्म खेती-किसानी थियो । युवा अवस्थामा कामको लागी जता पुगे पनि बर्खा मासमा गाउँ फिर्थे । अन्न रोप्थे । जमिनमा पसिना बगाउथे । तर अचेल समय बदलिएको छ । समय संगै कर्मको ब्याख्या पनि बदलिएको छ । गीतामा कृष्ण भन्नुहुन्थ्यो -"कर्म गर, तर फलको आसा नगर ।" पुर्खाहरु धार्मिक  कथाहरुमा विस्वास गर्थे र त कर्म पश्चात फल प्राप्त नभए पनि हाम्रो पुस्ताले जस्तो एतिबिध्न दुःखी बन्दैनथे । हामी अचेल खेति पश्चात प्राप्त हुने उब्जनीको हिसाव गर्छौँ, नाफा-घाटा तुरुन्तै छुट्याउन सक्ने भएका छौँ । अनि यसरी आउने  हिसावको प्रतिफल ऋणात्मक देख्ने बित्तिकै छपटाउछौँ । हुन पनि पहाड्का ढुङ्गा लाग्ने खोरियाहरुमा उब्जनी कम नै हुन्छ । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन हुन्थे । परिश्रम अधिकतम्, उत्पादन न्युनतमले गर्दा किसान बन्ने बाध्यतालाइ पनि पन्छाउछ मान्छे अचेल । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन हुन्थे । कर्म नै धर्म थियो । हामी यहि विन्दुबाट दुःखी हुन सुरु गर्र्छौँ । दुःख त आफ्नै सोच हो । दुःख आफैँ हो । दुःखको कारण र कर्ता हामी आफैँ हौँ । हामी फगत् यो यथार्थलाइ भुलिदिन्छौँ र रमाईदिन्छौँ क्षणिक भ्रमहरुमा ।
उन्ताका गाउँमा पर्म परेलीको चलन थियो । पर्मसंग पर्म नै विनिमय हुन्थ्यो । सबैको जमीनमा बिऊ रोपिन्थ्यो । गाउँभरीका सबै मिलेर खेति गर्थे । जग्गा खाली देखिन्न्थ्यो । खेत-बारीमा लह लह अन्न झुल्थे । खेत बारि सुन्दर देखिन्थ्यो । खेतालाको बदला खेताला तिरिन्थ्यो ।अचेल खेताला लगाउने मान्छे नभएर गाउँ उराठ बनेको छ खेत बारी पनि उराठ बनेका छन् । केहि समय अघि सम्म त खेताला पैसामा काम गर्थे तर अचेल समय बदलिसकेको छ । गाउँमा पैसासंग पर्म साटिन छोडिसक्यो ।
"पैसाले खेत-बारी रोप्नि भए मान्छे किन चाईन्थ्यो बाबू" आम किसानका मुखमा झुण्डिएको सामुहिक वाक्य हो यो । यथार्थ पनि यै हे कि-पैसाले खेति हुन्न, मानिसको परिश्रमले हुन्छ । अब गाउँको समस्या यै भयो । मान्छे निख्रिन थाले पछि खेति बाँझै राख्ने होडबाझि चल्न थाले । खेताला बन्न छाडे अचेल गाउँका आधुनिक मान्छेहरु । युवाहरुमा खेतीप्रति लगाव र मोह शुन्यमा झरिसक्यो । जव उत्पादनका निमित्त किसानका सन्तान आफ्नो जमिनमा खेताला नबन्ने संस्कृतीको बिकास हुनथाल्यो, तवदेखि जमिन एक्लिन थाल्यो । जमिन र अन्नको सह-सम्बन्ध छुटिन थाल्यो । पात्रोमा नयाँ साल फेरिने बित्तिकै झन जमिन बाँझिने क्रमको निरन्तरता बढ्न थाल्यो । गाउँमा मान्छे बस्न छाडे ।सुखको खोजिमा शहरले तान्यो गाउँलाई । हुन त गाउँलाई भुकम्पले तानेदेखि नै आत्तिन थालेको हो गाउँ ।
गाउँको भूगोल बिग्रिएको छ अचेल । नक्शा बदलिएको छ । पुर्खाले खनिखोस्री तयार पारेको भूमीमा अन्नको सट्टा घाँस मात्रै फल्छन् अचेल । रोपनि-रोपनि जग्गाहरुले बर्खामा आलु झार र हिउँदमा भुसभुसे उत्पादन गर्छन् । गाउँको रोपनि जग्गाको मोह भन्दा शहरको एक कोठा र र्इत्रु टुक्रा जमिन प्रिय भएको छ । गाउँको स्थाई बासिन्दा घट्न थाले पछि खेति लगाउने पनि घट्न थाले । अचेल त स्थाई गाउँबासी भनेका त ब्रहृमलीन हुन आँटेका शरीरहरु मात्र हुन् भन्न हिचकिचाउन नपर्ने भैसक्यो । पढ्दै गरेकाहरु "एसइइ" सम्म हो गाउँ बस्ने । त्यसपछि उनीहरुको शहर जाने रहरको सामु गाउँ झुक्छ, हार्छ र पाहुना बनाउने यात्रा तय गर्दिन्छ गाउँ । आखिर म पनि त यसैगरि गाउँबाट ओझेल परेको हुँ । अनायसै नोस्टाल्जिक भैदिन्छु म । "एसइइ" सकिदा पखेटा पलाउन सुरु भएकाहरु मध्य केहि थोरै धौ-धौले मात्र १२ पढ्दा सम्म अड्याउछन् आफुलाई गाउँमा । १२ पछि त पखेटा  बलिया हुन्छन्, अनि भुर्र उड्न थाल्छन शहर तिर । शहर हुने बिदेश तिर । जव जवान युवा शहर पस्छ अनि उ गाउँ र्फकन मान्दैन । उ बिस्तारै गाउँको पाहुना बन्न थाल्छ, घरको पनि । चाडवाड्मा  यस्सो गाउँमा झुल्किन्छ, त्यो पनि गाउँमा जानु उसको बाध्यता जस्तो भाव अनुहार भरि दौडाउछ । निधारका छालाहरु खुम्चयाएर गह्रा गह्रा बनाउछ । छोरीहरु पनि गाउँ बस्न रुचाउदैनन् अचेल । अवशरको खोजिमा शहर नै पस्छन् । छोरासंगै शहर पुगेका बुहारीहरु गाउँ फिर्नै खोज्दैनन् । गाउँ बस्न मन नलागेका बहानाहरुको बिस्कुन असरल्ल हुन्छन् । नव-बुहारीहरु त गाउँ बस्नै नपरे हुन्थ्यो भनेर भाकल नै गर्न थालिसके । गाउँमा हुर्केर शहर पसेकाहरु गाउँको उकालो ओरालोहरुलाई सराप्न थालेका छन्, धिक्‍कार्न थालेका छन् अचेल । गाउँमा बस्न र काम गर्न पर्दाको बखत आफुलाई भाग्यले ठगेको घोषणा गरिदिन्छन् ।

एवं रीतले गाउँ एक्लिदै छ अब । गाउँबाट मान्छे क्रमैसंग रित्तिदैछन् । एकदिन गाउँ रित्तिने छ । आखिर मान्छे आफ्नै शरीर छोड्छ अनि आफैसंग रित्तिन्छ अर्कोदिन । रित्तिनु त जीवनको नियती हो । रित्तिनु शून्यता तर्फो यात्रा हो । रित्तिए पछि पो शून्यतामा पुग्न सकिन्छ अनि शून्यताबाटै पूर्णतामा पुग्न सकिन्छ भन्ने तत्ववोध हो । रित्तिनु, भरिनु, अनि फेरि रित्तिनु, अनि फेरि भरिनु त जीवनको चक्र हो, परिवर्तनको नीयम हो । जीवनको लीला हो । ब्रहृमाण्डको लीला हो । सायद अब यो लीलामा रित्तिनुको पालो कुरेको होला गाउँले ! कृष्णले गीतामा भनेझैँ -"जे भयो राम्रै भयो ।  जे भैराछ राम्रै भैराछ । जे हुँदैछ राम्रैका लागी हुनेछ ।"
जदौ ।

Thursday 8 March 2018

रित्ताे भेट


जाडो मौसम ।चिसोका हरेक कणहरु आँखाबाट छिरेर पुरै शरीरमा सिरिङ्ग बनाउन उद्धत बनि रहेको थियो ।घाम दुब्लाएर न्यानोको तागत हराए पछिको  निरीह शहरमा  म कफीले ज्यान सेक्न क्याफे छिर्छु । दिउसै देखी उसको डिउटी सकिने प्रतिक्षामा मैले चार कप डबल एक्सप्रेसो कफी फरक-फरक क्याफेमा रित्याई सकेको छु । कफी होस या अरु कुनै चिज, रित्याउनुमा मजा छ । रित्तिनुमा मजा छ ।
 प्रतिक्षाको एतिविध्न मिठो लतले मलाई लठ्याउला भनेर यो भन्दा पहिले अनुभूति गरेको थिईन सायद ! तर लठ्यायो । बरु मलाइ था'भो केही लठ्याईहरुमा मिठास हुने रहेछ । तर म लठ्ठिएर पनि रित्तिन चाहन्छु । लमलाई रित्तिनुमा लगाव छ ।

मलाई यसरी लठ्याउन सामर्थ्य राख्ने 'उ' - एउटी पात्र हो । प्राय: मेरो मनभित्र उब्जिरहने अनौठो कुतुहलता पनि !

डिसेम्बरको पहिलो हप्ता, म भर्खर काठमाडौँ पुगेको हुन्छु ।जाडो महिना, छोटा दिनहरुको रजाई ।
न्युरोड-सुन्धारा-महाबौद्धमा मेरा पदचापका डोबहरु छरपष्ट भए त्यो दिन ।
प्रतिक्षाको ईजलासमा मलाई खडा गर्ने हो भने ति पनि बलिया प्रमाणहरु हुने थिए । तर यो जीन्दगीको अदालत थिएन । थियो बस, कसैपृतिको मृगतृष्णा ।

थाहा थियो, मेरा लागी भनेर घाम चाँडै अस्ताईदिदैनन् ।
घडीको सुई छिट्छिटो घुमिदिदैन् ।सुई घुमाउन सकिएला, तर सुईसँगै समय घुमाउन सकिन्न । र पनि मन न हो हतारिन्छ ।यो हतारोलाई भुल्दै काठमाडौँ मलबाट टुँडिखेल नियाल्छु ।
अन्तत: धूमील दृष्यविच धूलो र धुवाँलाई छिचोलेर बत्तिका मधुरा प्रकाशहरु शहरमा टिलपिलाउन थाल्छन ।अनि म गमक्क गम्किन्छु ।यसरी गम्किनुमा मलाई बिछट्टै मज्जा छ । किनकी अब उसलाई भेट्ने समय निजिकिदै छ ।

यी प्रकरणहरुका बिचमा हामीले फोनमा आफ्नो आवाज केहि पटक ठोक्काई सकेका हुन्छौँ ।भेट्ने स्थान पक्का भएपछी म उ भएको गन्तव्य पहिल्याउन ट्याम्पुसँगै बवरमहल तर्फ अगाडी बड्छु ।
धूलाम्य काठमाडौँ।मलाई सबैभन्दा धेरै डर नै यि धूलो/धुवाँ देखी लाग्दै छ ।जे जस्तो भए पनि यो हाम्रो शहर हो ।मैले कसैलाई भेट्न प्रतिक्षा गरेको शहरलाई म कसरी नराम्रो भन्न सक्छु र अब !

वरिपरी मान्छेहरुको भिड छ । शहरको विशेषता नै भिड रहेछ ।कोलहाल रहेछ । म पनि भिडको एन नव-सदस्य बनेको छु ।
हाम्रो पहिलो भेटभन्दा अगाडी अन्तिम पटक फोन सम्पर्क हुन्छ ।उसले बिजुली बजार पूल नजिकैको लोकेसन दिएकी थिई ।म त्यहिँ पुग्छु ।म गाडीबाट उत्रेपछि नजिकै गाडी कुर्नेहरुको कोलहालयुक्त वातारण छरिएको देख्छु।
एकहुल भिड आफ्नो गन्तव्यको प्रतिक्षामा गाडीतिर नजर लगाइरहेका हुन्छन् । त्यहि भिडबाट केहि कदम परबाट हातले ईशारा गर्दै माक्स लगाएकी मेरो प्रतिक्षा, मेरो कुतुहलता म नजिकै आईपुग्छे ।
म ति भिडहरुमा चुपचाप खडा छु ।मानौ ति भिडहरु हल्ला होईन, लाग्दैछ एउटा मौन मिलनको रोमान्चित दृष्य हेर्दै छन् ।
अँ, उसलाई यो भन्दा पहिले फोटोमा देखेको थिएँ ।
"मलाई देखेपछि हजुरको बिचार नबदलियोस" उसले म्यासेजमा भनेको याद हुन्छ ।
म चित्रको(फोटो) तराजुमा मान्छे तौलन जान्दिन ।
चित्रले चरित्र बताउदैन ।स्वभाव बताउदैन ।व्यहोरा बताउदैन ।बस, मान्छे देखिन्छ चित्रमा, अरु देखिन्न !
"संगतले हो मान्छे प्रतिको विचार निर्माण हुने" -मैले उसलाई भनेको थेँ, सायद उसले पनि सम्झेकि छे। मलाई था छ, उ सम्झनमा माहिर छे ।

उ फोटोमा देखिएकी भन्दा राम्री थी, ठीक मेरो सामुन्ने ।थोरै हल्लिन्छे उ । मुखबाट माक्स खोल्दिन । मैले खोल भनेको भए के गर्थि कुन्नि, तर उसले खोलिन !
पहिलो मिलनको पहिलो प्रहर थियो ।
संकोच र उत्साह एकैपटक भैदियो त्यो साँझ ।अनौठो क्षण ! शव्दले लेख्दैन सायद । भावले देख्छ । अनुभूत गर्छ ।
म अढेस लागेको ल्याम्प पोस्टबाट बत्ति हाम्रै लागी खसिरहेको थियो जस्तो लागिरहेको थियो ।म त्यै ल्याम्प पोस्टमा खडा भएर चोरी-चोरी उसलाई हेर्छु । एक-अर्को प्रतिको कुतूहल जाग्दा हाम्रो आँखा जुध्छ ।केहि थान  लाज उत्पादन गर्छ मेरो मनले ।सायद उसले पनि । म लजाएको बेला उसलाई  हेर्न सक्दिन, आकाश नियाल्छु । लाजमा आकाश तिर फर्कनु पनि सार्वभौम तरिका हो भन्ठान्ने म मात्र होइन भन्ठान्थे पनि । यो भावको आकस्मिक स्वीकारकर्ता हुँ म ।
खै किन हो, उ मुसुक्क मुस्कुराउथी । मुस्कुराउदा माक्सले छेकेर धागोबाट बचेको गालाको केही भाग च्यातिइको देख्थेँ म ।
यो महा-आनन्दानुभूतिको बयान शव्दले व्यक्त गर्न सक्दैन सायद !

उसले सँगै खाजा खाने आग्रह गरेपछी हामी नजिकैको ए-वान क्याफेमा छिर्छौँ । कफी र मःमः अडर हुन्छ ।उ टेबल मुनी हेरिरहन्छे ।उसले नियालेर होला त्यो भुँई मलाई हेरुँ-हेरुँ लाग्छ ।मान्छे जस्तै उसले हेरेको भुईँ पनि प्रीए लाग्छ ।म पनि उसले नियाले तिरै आँखा डुलाई रहन्छु ।
गफ कम र हेराहेर ज्यादासंगै प्लेटको मम रित्तन्छ ।कपको कफी रित्तिन्छ ।ग्लाँसको तातोपानी पनि रित्तिन्छ ।योसँगै हामी बसेको टेबल रित्तिन तयार हुन्छ । साँझ छिप्पिएसंगै अर्को हतारो हामीबिच तेर्सो पर्छ ।उसलाई गाडी चडेर घर पुग्नु छ ।मलाई पनि ।

-"हिडेर जाम ल कोटेश्वर सम्म ?"
मैले चाहेको तर आग्रह गर्न नसकेको भावमा उ आफै मलाई प्रस्ताव गर्छे ।
-"हुन्छ ।"
म संयमित हुन्छु ।धेरै प्रफुल्लित देखिएर हौसिनु मलाई ठिक लाग्दैन ।तर मन धेरै रमाएको थियो उसको आग्रहले ।
र हामी संगै हिड्यौ । केही कदम । कदम- कदम ।

धूलोले लपक्कै ढाकेको शहर, हामीलाई बानेश्वर देखी कोटेश्वर छिचोल्नु थियो । काठमाडौँ पुरै (डस्टमान्डु)धुलोमान्डुमा परिवर्तन भैसकेको रहेछ । बाटैभरि सवारी साधनको कर्कश आवाज र उडिरहेएको धूलो छिचोल्दै हामी लम्किरहन्छौँ ।
तिनकुने पुग्दा आकाशमा ताराहरु नाचिरहेका थिए ।उसले मलाई तीनआँख्ले तारा चिनाई ।मैले पहिलो पटक तीनआँख्ले तारा चिने ।उसले चिनाएको तीनआँख्ले तारासँगै अरु ताराहरु झन मोहक चमकमा मस्त थियो । आकास सुन्एदर थियो । मेरो मन पनि सुन्दरतामा अलमलिदै थियो । एउटा प्रेमयात्रामा मस्त भएझैँ मदहोश थिएँ म ।

उसलाई छोडेर फर्कन पर्ने भयले कोटेश्वर किन किन मलाई मन परिरहेको थिएन । म चाहन्थे बाटो अझै लम्बियोस साथ अझै लम्बियोस ।सँगै अझ अरु केहि कदम साथ हुन पाईयोस ।सायद उ पनि चाहन्थी होली ! मनले त फगत चाहना त उत्पादन गर्दिन्छ । मनले पुरा गर्न पर्ने भए त किन उत्पादन हुन्थे होला र चाहना पनि, सजिलो छ मनलाई ।भएभरको चाहना बनाइदियो अनि मस्तिष्कलाई तनाव दियो !
साँझ झपक्क छिप्पिसकेकोले होला, हाम्रो चाहना अधुरै रह्यो ।जे चाहना मन पर्दैन त्यो स्वीकार्न पर्ने बाध्यता आईपर्छ ।भयो तेस्तै ।गाडी आयो । उ चढी ।मेरो मन उसंगै गाडीको भिडमा च्यापिएर यात्रा गर्यो, पेप्सीकोला-काँढाघारी सम्म ।

उसलाई गाडीमा चढाएर रित्तो ज्यान लिएर फर्कनै मन थिएन मलाई ।जसै फर्कनु त छँदैछ । एउटा गन्तव्यमा रहि रहनु भनेको अर्को गन्तव्य तय नगर्नु पनि त हो । म मोडिएँ ।
उसकै स्मृतिमा रमाउदै उसँगै हिडेको बाटो ।कोटेश्वरबाट फेरी हिडेरै बानेश्वर फर्किएँ  ।

बाटोमा "पेप्शीकोला-काँडाघारी जाने हो" आवाज दिएर  ढ्याप ढ्याप हुँदै गुडिरहेको अर्को बस पनि प्रिय लाग्न थाल्यो त्यसपछि ।

बाटैभरी उसैले देखाएका तीनआँख्ले तारा नियालिरहेँ ।ती ताराहरु पहिला देखिनै चम्किला थिए वा आज उसले देखाए पछि चम्किए, म नितान्त रनभुल्लतामा अलमलिदै रुम पुग्छु ।
बिस्तारै झ्याल खोल्छु, आकाश हृदयप्रफुल्लित मुद्रामा धपक्क मुस्कुराएको छ ।ताराहरु ईलेक्ट्रिसियनले मिलाईदिएको झिलमिले बत्तिझैँ पालैसित मोहक दृष्यमा चम्किरहेका छन् ।

स्मृतिमा म उसलाई पटक-पटक घुमाउछु ।म पटक-पटक घुम्छु ।पटक-पटक उसका भावनाहरु सम्झन्छु ।उसका अस्थिर यादहरुले मलाई तन्द्रामा पनि घच्घचाइ रह्यो ।