-राम न्यौपाने
पात्लेखोला वन बाक्लिएको छ
अचेल । र्छछरे, डाँडीकटेरी तिर मस्त हरियाली सजाएर रमाएको छ पाखो । चिलाउने डाँडोबाट उसैगरि
झुल्किन्छ घाम । लप्सेखोलाको सुसाई पनि जोडले सुनिन्छ अचेल । सेल्तापको पाखो हुदै भोटफुल्पिङ्गको
टुप्पोतिर फैलिएका छन् घामका किरणहरु, चौतारा देखि इर्खु सम्म
।
घामको असमान फैलाईप्रति मेरो
बिद्रोही चेत जुरमुराउछ अनायसै । गैह्रा र खाल्डो परेका भू-भागहरुमा फैलन किन कठीन
मान्छ घाम ! किन पहाडका टाकुराहरुमा सुरुमै र्स्पर्श गर्छ कीरण
? किन बेशी र्झन ढिलो गर्छ घाम ? सायद यस्ता सवालहरु पुष माघको ठिहीमा आकर्षक हुन्थे
होलान् । तर वर्षायामको यो गर्मीमा यी वैमनष्यहरुले कुण्ठा बनेर मलाई घोचिरहन्छन् ।
चिमोटी रहन्छन् । पछारी रहन्छन् । थचारी रहन्छन् ।
घामको असमान फैलावट भन्दा प्रकृतिको
असमान वनावट र वितरण प्रतिको बिरोध हो मेरो । असमान भूगोल प्रतिको बिरोध हो । किन सबैतिर
समान छैन भूगोल ? किन समथर मात्र छैन भूगोल ? किन उब्जाउशील मात्र छैन जमीन
? मलाई सिधा प्रश्न गर्न मन छ भूगोल निर्मातासंग । यदि भूगोल समान हुन्थ्यो
भने सबैतिर समान तवरले मान्छेको बसाई हुने थियो । गाउँ रित्तिन्नथ्यो । मान्छे रित्तिन्नथे
।मनमनै ठोकुवा गर्छु, भूगोलको असमानता पनि बर्ग निर्माणको कारण
हो ।
आह्हा कति राम्रा रहरलाग्दा
प्रश्नहरु छन् मसंग !
बेकारका बिरोधहरु छन् । खैर यी प्रश्न र बिरोधहरु उत्पादन हुनुको कारणबारे
लेख्न खोज्दै थिएँ आफुलाई बहकाएछु ।
म भन्न खोज्दै थिएँ की, म गाउँमा छु । वर्षाको
याम छ । रोपाईका लागी केहि दिनको पाहुना बनेर गाउँ प्रवेश गरेको छु । रोपाईको चटारो
सबैको घरदेखि बारी र खेत सम्म हतारो गर्दै छ । मानौ हतारो बिनाको जिन्दगी छैन अचेल
। मानौ हतारो बिनाको जीवन छैन अचेल । मानौ हतारो बिनाको किसान छैनन् अचेल । मानौ हतारो बिनाको गाउँ छैन अचेल
। सबैको थाप्लोमा नाम्लो अड्डएिको जीवन छ । आखिर किसान जुरमुराउने बेला हो वर्षा ।
अनि मानो रोपेर मुरी फलाउन कर्म गर्ने
याम हो वर्षा । के बृद्ध, के स-साना केटाकेटी ! सबैका थाप्लोमा गच्छे अनुसारको भारी
छन् । सबैका थाप्लोमा मकै, ढोड्, घाँस अनि
सोत्तरका भारीहरु अल्झिएका छन् । म ति सबै थाप्लोहरुमा जिन्दगीको भारी पनि अल्झिएको
देख्छु । आखिर किसानको जिन्दगी नै भारीहरुले त बेरिएको हुन्छ ! दुःखका भारी । पीडाका भारी । परिश्रमको भारी । जीवनका भारीहरु.....
गैह्री मुनितिर तल्लाबारी
(पहिला बारी थियो पछि खेत बनाइएको) खेत छ । खेत रोप्नु अगाडि आली काट्ने,
कुनु खोस्रने र झार सफा गर्ने चलन छ । आली बाले काटिसक्नु भएछ । ढोड्
पन्छाउने र कुनु खोस्रने जिम्मा मैले लिएको छु । म कुनु खोस्रदै थिएँ । दुइ तीन कान्ला
मुनि ७६ बर्षीय आलचौरे हजुरबा लक्ष्मिकान्त न्यौपाने आली काट्दै थिए । अलिक माथ्याड
७० बर्षीय पल्लावारी हजुरबा छवीलाल न्यौपाने ढोड छिमल्दै थिए । पाल्यावनको बाटो हुँदै
६९ बर्षीय गैराघर ठूल्दिदी वेदमाया पौडेल
ढोड मकै खेप्दै थिइन । अलिक माथी १४ बर्षीय भाइ शुभाष खेतमा आली
लगाउने लाठे बनेको थियो । बाटागह्राबाट ९ बर्षीय नानी प्रशिका न्यौपाने डोको भरी मकै
बोक्दै थिइन् । गाउँको यथार्थ हो यो । गाउँमा जीवन अड्याउने मान्छेहरुको उमेर,
कि त सत्तरी वरपरका बृद्ध छन् कि त स्कुले भुराभुरी । यिनैले त अड्याइदिएका
छन् गाउँ । जति छन एकदमै कम छन् । गाउँमा लाठे घटे । रोपा'र घटे
। अब त यसरी घट्नेहरुको प्रतिस्पर्धा चल्दै छ । गाउँ सुनसान बन्दै छ । बारी र खेतहरु
सुनसान बन्दै छन् । सायद आघौँ र पराघौँ गाउँबाट मान्छे घट्नेक्रमको फेहरिस्त झन बढ्ने
होला !
एक ठाउँबाट अर्को ठाउँको स्थानान्तरण
परम्परा देखिको रीत हो । अचेल पो गाउँबाट शहर छिरेसि मान्छे अल्छिमा बदलियो ! हाम्रा पुर्खाहरु
पनि गाउँमा कतै न कतैबाट स्थानान्तरण हुदै आइपुगेका हुन् । तर याहाँ आउनुको ध्यय भने
कर्मसंग थियो । पुर्खाहरु कर्ममा विश्वास गर्थे र जता पुगे पनि कर्म गर्न छोड्दैनथे
। मुल कर्म खेती-किसानी थियो । युवा अवस्थामा कामको लागी जता
पुगे पनि बर्खा मासमा गाउँ फिर्थे । अन्न रोप्थे । जमिनमा पसिना बगाउथे । तर अचेल समय
बदलिएको छ । समय संगै कर्मको ब्याख्या पनि बदलिएको छ । गीतामा कृष्ण भन्नुहुन्थ्यो
-"कर्म गर, तर फलको आसा नगर ।" पुर्खाहरु धार्मिक कथाहरुमा विस्वास गर्थे र त कर्म पश्चात फल प्राप्त नभए पनि हाम्रो पुस्ताले
जस्तो एतिबिध्न दुःखी बन्दैनथे । हामी अचेल खेति पश्चात प्राप्त हुने उब्जनीको हिसाव
गर्छौँ, नाफा-घाटा तुरुन्तै छुट्याउन सक्ने
भएका छौँ । अनि यसरी आउने हिसावको प्रतिफल ऋणात्मक देख्ने बित्तिकै छपटाउछौँ । हुन पनि पहाड्का ढुङ्गा
लाग्ने खोरियाहरुमा उब्जनी कम नै हुन्छ । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन
हुन्थे । परिश्रम अधिकतम्, उत्पादन न्युनतमले गर्दा किसान बन्ने
बाध्यतालाइ पनि पन्छाउछ मान्छे अचेल । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन हुन्थे
। कर्म नै धर्म थियो । हामी यहि विन्दुबाट दुःखी हुन सुरु गर्र्छौँ । दुःख त आफ्नै
सोच हो । दुःख आफैँ हो । दुःखको कारण र कर्ता हामी आफैँ हौँ । हामी फगत् यो यथार्थलाइ
भुलिदिन्छौँ र रमाईदिन्छौँ क्षणिक भ्रमहरुमा ।
उन्ताका गाउँमा पर्म परेलीको
चलन थियो । पर्मसंग पर्म नै विनिमय हुन्थ्यो । सबैको जमीनमा बिऊ रोपिन्थ्यो । गाउँभरीका
सबै मिलेर खेति गर्थे । जग्गा खाली देखिन्न्थ्यो । खेत-बारीमा लह लह अन्न झुल्थे ।
खेत बारि सुन्दर देखिन्थ्यो । खेतालाको बदला खेताला तिरिन्थ्यो ।अचेल खेताला लगाउने
मान्छे नभएर गाउँ उराठ बनेको छ खेत बारी पनि उराठ बनेका छन् । केहि समय अघि सम्म त
खेताला पैसामा काम गर्थे तर अचेल समय बदलिसकेको छ । गाउँमा पैसासंग पर्म साटिन छोडिसक्यो
।
"पैसाले खेत-बारी
रोप्नि भए मान्छे किन चाईन्थ्यो बाबू" आम किसानका मुखमा
झुण्डिएको सामुहिक वाक्य हो यो । यथार्थ पनि यै हे कि-पैसाले
खेति हुन्न, मानिसको परिश्रमले हुन्छ । अब गाउँको समस्या यै भयो
। मान्छे निख्रिन थाले पछि खेति बाँझै राख्ने होडबाझि चल्न थाले । खेताला बन्न छाडे
अचेल गाउँका आधुनिक मान्छेहरु । युवाहरुमा खेतीप्रति लगाव र मोह शुन्यमा झरिसक्यो ।
जव उत्पादनका निमित्त किसानका सन्तान आफ्नो जमिनमा खेताला नबन्ने संस्कृतीको बिकास
हुनथाल्यो, तवदेखि जमिन एक्लिन थाल्यो । जमिन र अन्नको सह-सम्बन्ध छुटिन थाल्यो । पात्रोमा नयाँ साल फेरिने बित्तिकै झन जमिन बाँझिने
क्रमको निरन्तरता बढ्न थाल्यो । गाउँमा मान्छे बस्न छाडे ।सुखको खोजिमा शहरले तान्यो
गाउँलाई । हुन त गाउँलाई भुकम्पले तानेदेखि नै आत्तिन थालेको हो गाउँ ।
गाउँको भूगोल बिग्रिएको छ अचेल
। नक्शा बदलिएको छ । पुर्खाले खनिखोस्री तयार पारेको भूमीमा अन्नको सट्टा घाँस मात्रै
फल्छन् अचेल । रोपनि-रोपनि जग्गाहरुले बर्खामा आलु झार र हिउँदमा भुसभुसे उत्पादन गर्छन् । गाउँको
रोपनि जग्गाको मोह भन्दा शहरको एक कोठा र र्इत्रु टुक्रा जमिन प्रिय भएको छ । गाउँको
स्थाई बासिन्दा घट्न थाले पछि खेति लगाउने पनि घट्न थाले । अचेल त स्थाई गाउँबासी भनेका
त ब्रहृमलीन हुन आँटेका शरीरहरु मात्र हुन् भन्न हिचकिचाउन नपर्ने भैसक्यो । पढ्दै
गरेकाहरु "एसइइ" सम्म हो गाउँ
बस्ने । त्यसपछि उनीहरुको शहर जाने रहरको सामु गाउँ झुक्छ, हार्छ
र पाहुना बनाउने यात्रा तय गर्दिन्छ गाउँ । आखिर म पनि त यसैगरि गाउँबाट ओझेल परेको
हुँ । अनायसै नोस्टाल्जिक भैदिन्छु म । "एसइइ"
सकिदा पखेटा पलाउन सुरु भएकाहरु मध्य केहि थोरै धौ-धौले मात्र १२ पढ्दा सम्म अड्याउछन् आफुलाई गाउँमा । १२ पछि त पखेटा बलिया हुन्छन्, अनि भुर्र उड्न थाल्छन शहर तिर । शहर हुने बिदेश तिर । जव जवान युवा शहर पस्छ
अनि उ गाउँ र्फकन मान्दैन । उ बिस्तारै गाउँको पाहुना बन्न थाल्छ, घरको पनि । चाडवाड्मा यस्सो गाउँमा झुल्किन्छ, त्यो पनि गाउँमा जानु उसको बाध्यता
जस्तो भाव अनुहार भरि दौडाउछ । निधारका छालाहरु खुम्चयाएर गह्रा गह्रा बनाउछ । छोरीहरु
पनि गाउँ बस्न रुचाउदैनन् अचेल । अवशरको खोजिमा शहर नै पस्छन् । छोरासंगै शहर पुगेका
बुहारीहरु गाउँ फिर्नै खोज्दैनन् । गाउँ बस्न मन नलागेका बहानाहरुको बिस्कुन असरल्ल
हुन्छन् । नव-बुहारीहरु त गाउँ बस्नै नपरे हुन्थ्यो भनेर भाकल
नै गर्न थालिसके । गाउँमा हुर्केर शहर पसेकाहरु गाउँको उकालो ओरालोहरुलाई सराप्न थालेका
छन्, धिक्कार्न थालेका छन् अचेल । गाउँमा बस्न र काम गर्न पर्दाको
बखत आफुलाई भाग्यले ठगेको घोषणा गरिदिन्छन् ।
एवं रीतले गाउँ एक्लिदै छ अब
। गाउँबाट मान्छे क्रमैसंग रित्तिदैछन् । एकदिन गाउँ रित्तिने छ । आखिर मान्छे आफ्नै
शरीर छोड्छ अनि आफैसंग रित्तिन्छ अर्कोदिन । रित्तिनु त जीवनको नियती हो । रित्तिनु
शून्यता तर्फो यात्रा हो । रित्तिए पछि पो शून्यतामा पुग्न सकिन्छ अनि शून्यताबाटै
पूर्णतामा पुग्न सकिन्छ भन्ने तत्ववोध हो । रित्तिनु, भरिनु, अनि फेरि रित्तिनु, अनि फेरि भरिनु त जीवनको चक्र हो,
परिवर्तनको नीयम हो । जीवनको लीला हो । ब्रहृमाण्डको लीला हो । सायद
अब यो लीलामा रित्तिनुको पालो कुरेको होला गाउँले ! कृष्णले गीतामा
भनेझैँ -"जे भयो राम्रै भयो । जे भैराछ राम्रै भैराछ । जे हुँदैछ
राम्रैका लागी हुनेछ ।"
जदौ ।