Sunday, 11 September 2016

ईतिहासको बहादुर - बर्तमानको वस्तु






           
                    



           
                     --राम न्यौपाने 

हिजो यो 
                     --राम न्यौपाने 

हिजो यो बहादुरलाई मालिकले इमेल गर्यो—"अर्को सूचना प्रकाशित मालिकले इमेल गर्यो—"अर्को सूचना प्रकाशित नहुन्जेल सम्म कम्पनिले तत्कालका लागी छुट्टी रोकेको छ ।"
म मालिकले खरिदेको 'वस्तु' बनेर यहाँ ल्याईएको छु । 

यो दशैँमा घर जाने मेरो चरम इच्छा र रहरको हत्या गरिदियो मालिकले । छुट्टी रोक्दियो ।

मौसम तातो छ तर मालिकहरु चिसा छन । समात्दा चिप्लो र उचाल्दा गह्रौँ छ श्रम कानुन |

एउटै घाम उदाउछ यहाँ पनि । तर चिलाउने डाँडाबाट फुत्त माथी उक्लिने घाम र यहाँको घाम नितान्त फरक छ ।
यहाँ घामसंग आगो पोखिन्च । र घाम बैंशालु हुनै नपाई बिहानै बाट चसक्क पोल्न थाल्छ । घामले मात्र हैन, कामले पोल्छ । जमिन मात्र हैन, शरीर पोल्छ । मन पोल्छ । मस्तिष्क पोल्छ ।

यो तापले जिन्दगी डढाउदै छ । म नियमित सेकिँदै छु ।
यसरी सेकिनु पूर्व मेरो जिन्दगी अभावहरुले बिग्रिएको थियो । कतै मिलिरहेको थिएन ।
मर्मत गर्ने ध्याउन्नमा यो बिग्रिएको जिन्दगी बोकेर भौँतारिएको ३० मैना पुरा भो । अझै बन्दैन, बन्छ की भन्ने आशमा मेरो जीवन एउटा 'वस्तुमा' रुपान्तरित बनिसकेको छ ।

म जिन्दगी बनाउन हिडेपछी भुकम्पले घर ध्वस्त बनायो । घरसंगै मेरो ठेगाना पनि  । भग्नावशेषमा पित्तलको अम्खरा खोज्दै गरेका बा-आमाको फोटो मेरो वालपेपरमा हल्लिरहन्छ ।फोटो संगै मेरो स्मृति हल्लिन्छ ।
तेही ठेगानामा रुमल्लिएको मेरो बालापनको स्मृतिले फनफनी घुमाईरहन्छ मलाई ।

आफ्नो बिस्तारामा साङ्ग्लो दौडदाँ बिउझिएर सुत्नै सक्दन्थेँ । छिसिक्क आवाज कानमा पर्यो भने छ्याङ्ग भैहाल्ने बानी थियो । छेउछाउमा कोही सुतेर गाढा स्वास लिँदा पनि 'डिस्टप' हुने, झन घुर्ने कोही परे भने म रातभर शिबजीको नाममा जाग्राम !

एकदम अल्टर थिएँ । यो बानीबाट आजित भएर बहुत रिसाउथेँ आफैसंग । ओछ्यान नेरको भित्तो चिथोरेर वा मुड्किले हानेर अर्कै आकृतिमा ढालिदिएको कयौँ उदाहरण छन ।

चिलाउने डाँडाबाट दशमान्छे जति माथी घाम पुग्दा फुल्पिङकोट पुरै झलमल्ल भएर रातभरी जम्मा भएका शीतहरु ओभानो बनि सक्थे।

आमाले घरधन्दा सकेर एकभारी घांस गोठमा फालेको सुनेसी झन, सिरकले आफुलाई बेरेर लुक्दा कल्लेरी गाँउ सुनसान भएझै गरि म निदाईदिन्थेँ ।
आमा "कान्छा उठ" भन्नुहुन्थ्यो । "उठ उठ ढिलो भैसक्यो" भन्दा लोरी सुनेझैँ लोलाउथेँ, झन निदले च्याप्थ्यो ।

बिहानीको त्यो मिठास नीदमा ओड्नी छोड्न तीनभारी स्याउला एकै खेप बोकेको भन्दा गह्रौँ हुन्थ्यो मलाई ।

बा-आमाले मलाई अभाव कहिल्यै देखाउनु भएन । लुकाउनु भो । सन्तानलाई राम्रो मात्र देखाएर पीडा लुकाउन कहाँबाट सिके बा-आमाले मैले बुझिन उन्ताका ।

खेतीबाट ६ मैनालाई पनि पुग्ने अन्न उब्जिन्नथ्यो । खेती गर्दा आमाको नङ्ग्रा संगै जिन्दगी खिएको छ । पैताला फुटेर कयौ रेसाहरुका खाल्डा बनेका छन ।
ऐले बुझ्दै छु, दु:खका प्रमाणपत्रहरु यिनै फुटेका पैताला र अर्धबैंशमै चाउरिएका गाला रहेछन ।

हरेक जसो बा ज्यामी काम गर्न शहर जानुहुन्थ्यो । फर्कदाँ बासंगै मिठाई फर्किन्थ्यो मेरा लागी । केही थान कपडा पनि फर्किन्थ्यो । घरका लागी चामल र दाल पनि !
तर बासंगै च्यातिएको स्टकोट नयाँ भएर फर्किएको कहिल्यै पनि देखिन मैले । आमाको नयाँ चोलो र फरियाको आश पनि अर्को चोटीको आश बनैरै फर्किन्थ्यो ।

यसरी हर दशैँमा बिँडी खाँदा आगोले फिलिङ्गो उछिट्टिएर व्वाल परेको आमाको फरिया संधै धोए पछि नयाँ भैरह्यो । सनपाटले चुटेर पखाले पछि बाको ज्यानमा त्यै स्टकोट चम्किरह्यो ।

घरमा चाडबाड र आफन्त आउदा बाहेक मिठो मसिनो तुल्याउन हम्मे थियो । मौसम अनुसारको तिहुन तयार हुन्थे । बर्खामा तामा, हिउदमा गुन्द्रुक । नत्र मोही सोल्दर । कयौँ पटक काँक्राको चिरा टोकेर ढिँडो निलिन्थ्यो । यि परिकारवाला खाना कैल्यै मन परेन मलाई ।

जब घरमा काम गर्नु पर्ने हुन्थ्यो तब मेरो एउटै सार्बभौम तरिका थियो । म किताब बोकेर घोत्लिन्थे । कपिमा 'सायरी' लेख्न थाल्थेँ । उसै केर्दा अचम्मको चित्र बन्थ्यो । कल्पना भन्दा धेरै परको बिम्ब उत्रन्थ्यो ।
अक्षर त आखाँमा बिझाउथे । मन अन्तै उड्थ्यो । जे जे गर्थेँ ति सबै पडन्तेको नाटक रचना हुन्थ्यो । चोर आँखा फाल्दा, काम अह्राउन आएका बा-आमा रित्तै फर्कि सकेका हुन्थे ।

मैले यसरी आफुलाई जीताएकोमा अट्टाहस मुस्कान छोडेँ उ बेला । मुठ्ठी कसेर माथी उचाल्दै 'यस' हुंकार गरेँ ।

समय बदलियो । समयसंगै मेरो 'म' पनि बदलिएको छ ।

जिन्दगी घडीको सुई रहेछ ।म बाल्य/किशोर कालमा घुम्दा यै रेखामा घुम्दिन्थे । त्यसरी समय मसंग घुम्थ्यो जस्तो लाग्थ्यो ।

तर ऐले जिन्दगीको घडीमा अर्कै सुई भएको छु म । आफ्नु तरिकाले घुम्न सक्दिन । मलाई अरुले घुमाउछन । अरुको समय चक्रमा घुम्दै छु ।जति बजाउछन उति बजिदिन पर्छ मैले । यसर्थ की यो घडी उस्ले खरिद गरेको छ । यसको हरेक सुईहरुमा उस्को स्वामित्व सुरक्षित छ ।
'दम' उसैको नियन्त्रणमा छ । मन लाग्दी बटार्छ । मन लाग्दी बजाउछ । म यसरी चुपचाप बजिरहेको छु । 

***

टियुमा भर्खर भर्ना भएको एउटा बिध्यार्थी । काठमान्डुले एक किसिमको बितृष्णा मन मस्तिष्कमा हुँडलि रहेको थियो ।
अब्यवस्थाको चरम उदाहरण थियो काठमान्डौ । देशको मात्र हैन; भ्रष्टचार, बेथिती, स्वार्थ र अझ फोहोरहरुको पनि काठमान्डौ राजधानी हो ।

म यि 'बहुमुखी बिम्बहरुको' राजधानीमा थिएँ । एउटै उद्देश्य थियो 'टियुको डिग्री सर्टिफिकेट' आफ्नो नाममा लेखाउनु । तर भर्ना भएपछि एकदिन पनि क्लास लिन परेन मलाई ।

कारण, एउटा साथी थियो, भर्खर 'खाडीबाट' नेपाल आएको ।एकदिन उसले चिया गफमा तितो ब्यङ्ग्य पेल्यो मलाई । "नेपाल बसेर पड्नेले सर्टिफिकेट आफ्नो नाममा गर्छन, अरब जानीले शहरमा जग्गाको लालपूर्जा ।
उसले तं सर्टिफिकेट रोजेर गलत गर्दैछस भन्ने 'निचोड' निकाल्यो ।

यो भन्नुको पछाडी, अरब भासिएको दुईबर्षमा उसले भर्खरैको छुट्टिमा नेपाल आउँदा काठमान्डौमा 'घडेरी' किनेर देखाएको प्रगति थियो ।

यै बेला मेरा मस्तिष्कमा, पढेर पनि जागिर नपाई छटपटिएका म जस्तै बेरोजगार युवाहरुको बिम्ब अनेकौँ ढाँचामा नाच्दै थिए !

त्यस रात उसका कुरालो म निदाउन सकिन । उसका शब्दहरु कानबाट छिरेर सिधै मनलाई क्षतबिक्षत बनाउदै थियो । यो पीडाले दुख्दा म भित्रको 'अहम' जाग्यो । एक किसिमको 'रहर' रोपिदियो उसले । रहर मात्र रोपेन, पानी सिंचेर गयो । एकै रातमा रहर फूल्ने गरि गोडेर गएछ उ त हलक्कै बढ्ने गरि !

उसको नाडीमा टल्की रहेको ब्रान्डेड घडी, आईफोन फाईभ मोडलको मोबाईल । र रेवनको सनग्लासले मलाई गिज्याई रहेको थियो रातभर ।
म झुस्स थिएँ । केही थिएन । मेरो सम्पत्ति भन्नुनै मेरो शरीर मात्र थियो ।

मेरो अन्तष्करणमा यि ग्याजेटहरुले पटक-पटक प्रहार गरि रहन्थे ।म पटक-पटक घाईते बनिरहन्थे ।

अनायसै घर बिम्बाकृत हुन्थ्यो । बिगतको अभाव बेस्मारी झम्टिन्थ्यो । आमाको फाटेको फरियाले बेर्थ्यो मलाई । बाको च्यात्तिएको स्टकोटको धुजाले आँखा टाल्न खोज्थ्यो । म निसासिन्थे ।

म फ्ल्यासब्याकमा हराउछु रातभर ।
मेरो परिवारको बिगत आम गरीब परिवारसंग मेल खान्छ ।
हाम्रो जग्गा साह्रै कम थियो । बीस पाथी जति धान फल्ने खेत ।
रैकर बारीमा अन्न कम र घाँस ज्यादा फल्ने । दुई तिन बस्तुभाउको परिवार पालिने घांस फल्ने बारीमा हाम्रो एक परिवार पालिने अन्न फल्दैन्थ्यो ।

दशैँ, तिहार र श्राद्धको दिन बाहेक हामीले भात पेटभरी कैहिल्यै खाएनौ । दिदीले सानैबाट अरुको घरमा काम गर्न जान पर्यो ।जेनतेन पढन पाउने भाग्यमानी मै थिएँ । 
बाले जीवनको औषत उमेर अरुकै भारी खेप्न पर्यो ।

यो बिस्मृतिमा टोलाउन पुग्दा, बिगतले नराम्ररी चिमट्यो त्यो रात । बर्तमानले झम्टिरह्यो । भविश्यको नाममा आउने दिनहरु बत्ति निभेर निश्पट अँध्यारो भएको मेरो कोठा जस्तै लाग्न थाल्यो ।

संभवत हामीलाई गरिबीले, समस्याले, पिडाले, तनावले र अभावहरुले बेरिरह्यो ।
सोचेँ, यो चक्रीय बेराईबाट उम्काउन पर्ने पालो मेरो थियो ।यसकारण की म हुर्किएको छोरो थिएँ । यो अभावले दबाव दिएर ठेल्यो मलाई रातभर । निदाउन दिएन ।

यि चिज सोचेर ऐंठनमा परेँ त्यो रात । हतपत फेसबुकमा आफुलाई भुलाउन खोजेँ, उसैले पोस्टिएका फोटाहरुमा नयन बिचरण हुन्थे । उ बराल्लिएको समुन्द्र हेर्थेँ। चिल्ला सडकहरु छेउका गगनचुम्बी महलमुनी उसलाई नियाल्थेँ।उध्यानमा हात फैलाएर आकाश अंगालेको फोटोले मोहीत हुन्थेँ ।

उ हर फोटाहरुमा मस्त हाँसेको हुन्थ्यो ।म हर नजरहरुमा उसलाई ईर्ष्याले नियाली रहेको हुन्थेँ ।

पक्कै पनि हास्नु नै खुसि हुनुको कारण हो । खुसि हुन सन्तुष्ट हुन पर्छ । सन्तुष्ट हुन दाम कमाउन पर्छ । यो भन्ठान्नु उस्लाई हेरिसके पछिको मेरो अनुभूती थियो ।यसर्थ मेरो मस्तिष्कमा 'बिदेश' खुसि हुने, दाम कमाएर हाम्रो परिवारीक तमाम अभावहरुको परिपूर्तीका साथै मेरो बिग्रिएको जिन्दगी बनाउने ठाँउ हो भन्नि कुराले डेरा जमायो ।

भोलीपल्ट बिहानै उसलाई फुनेर रुम बोलाए । "म पनि बिदेश जान्चु यार" रातभरिको अनिदोको 'सारांश' एत्ति थियो ।
उ मुसुक्क हाँस्यो । हाँस्दा उसका अगाडीपट्टि थोरै उछिट्टिएको दुईटा दांत सुन्दर देखेँ मैले । उस्ले ठेगाना दियो ।

पहिलेनै बताईए अनुसार, म्यानपाओरमा सर्टिफिकेट सहित पुगेँ म । मान्छेहरुको भिड थियो । केशर महलअगाडीको पासपोर्ट साखामा हुने भिड  दिउसो म्यानपाओरमा बाँडिन्थ्यो ।म पनि तेसरी बाँडिएको थिएँ ।मेजर अंग्रेजीमा मास्टर सकेर बोर्डिङ स्कुल पडौदैँ गरेको चिनेको एउटा साथी त्यै हुलमा थियो ।म पनि मिसिएँ ।

इन्टरभ्यु सकेर फर्कदा बाटैमा फोन आयो । "राम जी बधाई, तपाई पास हुनु भएको छ, भोली अपिसमा ५० हजार सहित पासपोर्ट लिएर आनुहोला ।" मैले 'धन्यबाद' भन्न नपाउदै उसले फोन राख्यो ।सायद म जस्ता धेरैलाई यो रेडिमेड शब्द सुनाउने जागीर हो उस्को ।

१ मैनामै भिजा झर्यो । मैले आफुलाई टोटल ३लाख ५० हजारमा 'एसएमआर' नामक म्यान पाओरमा बेचेँ पहिलो पटक ।बेचिँदा उस्ले मलाई ७० हजारको तिरेको रसिद र केही थान झुट बिवरण कन्ठस्थ घोकाएको थियो । यसरी आफैलाई बेचेर सेक्युरिटी गार्डमा युएईको आबुधाबी आएँ म । 

***

३० मैना सातघाम बराबरको ताप चाख्दै छु म निरन्तर  । तातो मात्र हैन, मैले सोचेको बिदेश चाख्दै छु ।आमाले पकाएको तिहुन धेरै मिठो ! म बुझ्दै छु । यो बुझ्न मलाई जिन्दगीको आधी उमेर कुर्न पर्यो ।

अल्छि गरेर बिहानभरि सुतेको स्वाद मेरो जिन्दगीबाट अलप भैसकेको छ अचेल ।म बिहानै ४ बजे मोबाईल आर्लामको साहाराले बिउझन्छु । आलार्मको एकै झड्कामा उठ्नु मेरो दैनिकी हो । नत्र मेरो डिउटी छुट्छ । डिउटी छुट्दा अर्को एकदिनको पारिश्रमिक छुटच । यो चिन्ताले मलाई ठिक समयमै उठ्न मद्दत गर्छ ।

मैले बासी खााना र खबुज (रोटी) खाएको ठ्याक्कै ३० मैना पुरा भएछ । र दुईछाक नपकाएको पनि !

रुममा डबल बिस्तारा छ । होस्टेल बेड, तल माथी । साङ्लो दौडँदा बिउझने म अचेल अर्कै भएँ । पालै सित डिउटी जान उठ्नेहरुले आलार्म बजाउछन । १० बजे । १२ बजे । २ बजे ।म कसैको सुन्दिन प्राय ।किनकी मलाई ४ बजे उठ्नु छ । यसर्थ अरुको आलार्ममा बहकिन्न म ।
डिउटी १२ घन्टको छ । र डिउटी जान रुमबाट डेढ घन्ट लाग्छ । त्यो अगाडी तयार हुन आधा/एक घन्ट । सबैलाई छोड्दै टिप्दै गर्छ गाडीले । आउन उही बारबर समय । तयार हुन र फ्रेस हुन सेम टाईम । खानाको लागी २ घन्ट समय । यसरी दैनिक १८ घन्ट डिउटी र यस्कै तयारीका लागी सक्छु म ।

म नित्य १८ घन्ट बिजी भैरहन्छु ।दैनिक ५/६ घन्ट सुत्छु ।बाच्नलाई डिउटी गरिरहनु र २४ घन्ट स्वास फेरी रहनु मेरो नियमित कर्म हो ।

साथीभाई, ईष्टमित्रसंग कुरा गर्न केही समय छुटाउन नपाउदा "फलानो ठूलो पल्टियो" भन्ने हल्लाहरु सुन्छु आफ्नाहरुबाट । साथीहरुबाट । 
म फिस्स हाँस्छु । यसरी हाँसेर पचाउनु सिवाय मसंग अर्को बिकल्प रहन्न ।

म प्राकृतिक छटाहरुको नेपाल सम्झन्छु । र यो खाडीसंग दाज्न पुग्छु । प्रकृतिले 'खाडीलाई' ग्याँस दियो । तेल दियो । 
हाम्रा पाखा पखेराहरुमा जस्तो याहाँ हेर्न लाएक केही देख्दिन म !

मैले घरको झ्यालबाट चिहाउने जुगल छैन यहाँ । बिहानीको झुल्के किरणमा चाँदनी पोतिने हिँउ फल्ने पहाडहरु छैनन् ।

बादलको लुकामारीसंगै छ्याङ्ग उघ्रने स्यालतापको डाँडो छैन । न काफलका बोटहरु छन ! न गुँराशका थुम्काहरु छन !

न केही हरियाली ! न छरेखोला र पातले छांगा जस्तै पहाडबाट पानीको फोस्रा खस्च याहाँ ! मिनी नायगरा फल्सको झल्को म छरेखोलाले मेटेथेँ, याहाँ त्यो पनि छैन ।

दुबईको जुमरेहा बिचमा पैसाले पानी नचाउछ, अक्सर मन बहलाउन म हेर्न पुग्छु । हुन त यहाँ पैसा रोपेर 'बागहरु' बन्छन । पैसा रोपेर सुन्दरता उम्रेको हुन्छ । तेही हेर्ने भिडहरुको लाम देख्छु बरु !

तर यो भिडमा मेरो गाँउका काकीहरु हुन्नन, बजैहरु हुन्नन, भाँडाकुटी खेल्ने भुराहरु हुन्नन् ।यहाँ हुने भिडहरु भन्दा मलाई असनको भिड मन पर्छ ।
त्यो भिडमा एउटा सुगन्ध छ।नेपालि बास्ना छ । तर यहाँ फगत महंगा अत्तरहरु छर्केर आउनेहरुको गन्धमा म बाको काखीबाट निस्कने पसिनाको गन्ध भेट्दिन । बिना परिश्रमको गन्ध मलाई नपच्ने भएको छ अचेल ।

चाईनिज दुबो र भुँईफूलहरुले सडकका छेउछाउ सिंगारिएका छन । डबल रोड लाईनको बिचमा खजुरका बोटहरु बांगिएला की भनेर ठिंग्रिङ् उभिएका छन ! तर हावाको वहाबमा ति पातहरु हाम्रो धुस्कोट मुनी बनतिर सल्ला शुसाए जसरी कहिल्यै शुसाउन्नन् ! सल्ला सुसाएको त्यो मिठो शुशेली धुनको न्यास्रो मेटन म खजुरका बोटमुनी टोलाउछु । तर मेरो तृष्णा व्यर्थ हुन्छ ।

नागीचौर मुनी देखी स्याल्तापको पुरै बनभरी फूल्ने लालीगुराँशले मनलाई आफूजस्तै गरेर रंगीन बनाउथ्यो । म त्यो गुराँश टिपेर आमाको चुल्ठोमा थपक्क राख्दिन्थे । र ऐना  देखाउथेँ । ऐना हेरेर आमा मस्त हास्नु हुन्थ्यो । म पनि अट्टाहास हाँसो फ्याल्दै दौडन्थेँ पर सम्म !
यहाँका भुईझारहरुमा त्यो सुन्दरता कहाँ पोखिनु र ! 

भिरखर्क मास्थीर, चुत्रो खाएर मुख रातै पारेको सम्झन्छु । हात पाखुरा चिथोरेर ऐँशेलु खाएको सम्झन्छु । याहाँ चुत्राका बुट्यान छैनन । ऐँशेलुको झाडी छैन ।

सुरेली खेलेर काफलको बुट चडेको जस्तो मजा, लिफ्ट चढेर संसारकै अग्लो १६५ तल्लाको 'बुर्ज खालिफा' टाओरमा पुग्दा पनि खास्सै टेस पर्दैन मलाई । 

यहाँको 'डेजर्टमा' बेतोड हावाको तरंगमा क्षणमै बन्ने  'रम्बलका' ढिस्काहरुको मोहकता हेर्ने जबरजस्त बानी परेको पनि ३० मैना पुरा भयो ।

समुन्द्रका किनाराहरुमा पानीको वेभसंगै पौडीरहेका जलमान्छेहरु हेर्दा बिछट्टै खुसी देखिन्छन । तिनीहरु ब्रह्मायाणीमा, शुनकोशीमा, ईन्द्रावतीमा पौडिन पाउने हो भने कति गम्किन्थे होला !

ति नदीहरुमा सलललल बगाई खेलेको बिस्मृतीमा हराउछु म यसरी ।

म आएको ३० मैना पुरा भो । म निरन्तर ६ मैना देखी छुट्टी मागिरहेको छु । मेरो निवेदन मालिकको टेबलमा चिसो एसी चाख्दै बसिरहेको छ । यहीँ हुँदा भुकम्पले घर ढलाई दियो । 

घर ढल्दा रौँचिरा दुरीबाट बचेका मेरा बा-आमालाई छाप्रोबाट अर्को नयाँ घरमा सार्नु पर्ने कर्तव्य र दाईत्वले मलाई बिद्रोह गर्न रोकिदिन्छ । यसरी न्यास्रीएको मनको घांटी चुपचाप अठ्याँईदिन्छु म जोडले ।

म 'साधन' बनेको छु । मलाई 'वस्तु' बनाईएको छ । म वस्तु नै बनेको छु । गलत कुरामा प्रतिबाद गर्ने मेरो क्रान्तिकारी स्वाभावले आत्मसमर्पण गरि कुलेलाम ठोक्दै भागिसकेको छ ।

धनि देशले वस्तु वा साधन निर्यात गर्छ र श्रमीक आयात गर्छ, तेही वस्तु उत्पादन गर्न । गरीब देशले हामी जस्ता मजदुर श्रमिक निर्यात गर्छ र म गरीब देशको 'साधन' बनेको छु ।

मैले स्वयमलाई म्यानपाओरमा र राज्यले मलाई यहाँ बेचिसकेका छन ।

पैसाका लागी श्रम बेच्नु पुँजीबादी समाजको नियम हो । तर मैले श्रम मात्र बेच्दिन यहाँ ! मेरो स्वतन्त्रता पनि बेच्छु । मेरा रहरहरु बेच्छु ।मेरा सपनाहरु बेच्छु । जति बच्छु,म मेरो जिन्दगी बेचिरहेको हुन्छु ।

फगत अरुको 'साधन' बनेर अरुकै समृद्धीको लागी उत्साहित हुँदै बिदेशीएछु भन्ने ज्ञात छ मलाई । अनि म ईतिहास तिर फर्कन्छु ।

ईतिहासले हामीलाई 'गोर्खे' बनायो । युएईको लगभग ५०% सुरक्षागार्ड गोर्खेहरुले धानेका छन । अझ भनौ लगभग २०% लेबरको हिस्सा समग्र नेपालीले धानेका छन ।
गोर्खाली हुनु 'गौरव' भनेर पढियो । 'बीरता' भनेर पढियो । हामी त 'बहादुर हौँ' भनेर पढियो । 'शाहशी' भनेर पढियो । ईतिहासले बारम्बार यहि भन्यो । हामीले बारम्बरार यही कन्ठस्थ गर्यौँ कहिल्यै नमेटीने गरि ।
तर यसो ऐले सोच्छु ईतिहासले हाम्रो बर्तमानलाई सजाएँ दिरहेको त छैन ?अरुको सुरक्षाको लागी हामी असुरक्षित हुन पर्नि यो कस्तो बिडम्बना ! अरुको सुरक्षाको लागी हामी ढाल बनिदिन पर्ने, ज्यान अर्पण गरि दिन पर्ने ईतिहास प्रति कस्तो गौरब ! 

यो बुझेर या नबुझेर, चुपचाप बस्चु म । यसरीमेरो 'आर्ग्युमेन्टको' भाषा मौनता बनेको छ अचेल ।

म जस्तै यहाँ हर स्थानहरुमा नेपाली ठोक्किन्छन । अग्ला टाउरहरु बनाउदै गरेका देखिन्चन् ।मार्केटहरुमा सेल्समेन बनेका भेटिन्चन । बगैँचा सिंगार्दै गरेका भेटिन्छन । पेट्रोल पम्पमा तेल भर्नेहरु, देशै सरसफाई गरेर सिनित्त पार्नेहरु भेटिन्छन, सबै प्रकराका कामका पौरखी नेपालीहरु भनेटिन्छन ,, ,,, ,,,! 

अरुको देश सिंगार्न मेहनत गर्ने नेपाली बहादुरहरुको ठूलो हुल छ यहाँ   ।

अरुको देश बनाउने आरनमा' रहेछौँ हामी नेपाली । ईतिहासका  बहादुर । 
अरुकै देशले तताउछ आरनमा हामीलाई । उसैले ठोक्च । उसैको आकारमा बदिलिन्छौ । उसैको देश बनाउदा बनाउदा 'भुत्ते' हुन्छौ । फेरी उसैले 'अर्जाप्च' ।
यसरी थोत्रिन्छौँ हामी । जब काम नलाग्नी गरि थोत्रिन्छौ तब फ्याकिन्छौ । नेपाल 'डम्पसाईट' बन्छ।'डस्टविन' बन्छ । 

ईतिहासले कहिल्यै नझुकाएको हामीलाई, यसरी वर्तमानले हर क्षण हर पल झुकाई रहेको छ ।

यस्तो हुँदा पनि रेमिट्यान्सको नाममा देश मख्ख परेको सुन्चु म अखबारहरुमा, अनलाईनहरुमा ! 


           

No comments:

Post a Comment