Saturday 11 March 2017

अनुपस्थित प्रेम

म अनुपस्थित
तिमी अनुपस्थित
हाम्रो अनुपस्थितिमा पनि
'प्रेम' उपस्थित छ ।

'हामीलाई' भनेर
बुनिएको सपना याद गर त !
दिमागको कुचिमा रंगाएको,
जीवनको पेन्टिङ !
तिमीले देखाएकी थियौ नि,
आकासको तिनआख्ले तारा,
ति ताराझैँ
त्यसैगरि
संधै साथ रहनपर्छ भनेर
सिकाएकी थियौ नी !
याद गर त ?
जीवनको क्यानभाषमा कोरेको
सपनाको रंग !

त्यो पेन्टिङ्मा चम्किएको
जिन्दगीको मुस्कान हेर्दै,
तिमीले भनेकी थियौ नी ?
रिसमा रिस जोड्दा पनि
ईजकल्टु माया हुन्छ भनेर ।

सम्झ त ?
तिम्रो घृणाले मेरो घृणा
नभेटुन भनेर गरेको बाचा !
तिमीले नै भनेकी थियौ नि,
दुनियाले हाम्रो बैमनष्य नदेखुन भनेर ।
याद गर त ?
हाम्रो सपना लतपतिएको
जिन्दगीको बुरुस !
मैले आज पनि, जीवनको संग्राहलयमा
तिम्रो अनुपस्थितिमा
जतनसाथ राखेको छु ।