Thursday, 8 March 2018

रित्ताे भेट

जाडो मौसम ।चिसोका हरेक कणहरु आँखाबाट छिरेर पुरै शरीरमा सिरिगं बनाउन उद्धत बनि रहेको छ ।घाम दुब्लाएर न्यानोको तागत हराएझैँ निरीह भएपछि म कफीले ज्यान सेक्न क्याफे छिर्छु । दिउसै देखी उसको डिउटी सकिने प्रतिक्षामा मैले चार कप डबल एक्सप्रेसो कफी फरक-फरक क्याफेमा रित्याई सकेको छु । प्रतिक्षाको एतिबिध्न मिठो लतले मलाई लठ्याउला भनेर यो भन्दा पहिले अनुभूति गरेको थिईन सायद ! तर लठ्यायो ।

मलाई यसरी लठ्याउन सामर्थ्य राख्ने 'उ' - एउटी पात्र हो । प्राय: मेरो मनभित्र उब्जिरहने अनौठो कौतुहलता पनि ।

डिसेम्बरको पहिलो हप्ता, म भर्खर काठमाडौँ पुगेको हुन्छु ।जाडो महिना, छोटा दिनहरुको रजाई ।न्युरोड-सुन्धारा-महाबौद्धमा मेरा पदचापका डोबहरु छरपष्ट भए त्यो दिन ।
प्रतिक्षाको ईजलासमा मलाई खडा गर्ने हो भने ति पनि बलिया प्रमाणहरु हुने थिए ।

थाहा छ, मेरा लागी भनेर घाम चाँडै अस्ताईदिदैनन् ।
घडीको सुई छिट्छिटो घुमिदिदैन् ।सुई घुमाउन सकिएला, तर सुईसंगै समय घुमाउन सकिन्न । र पनि मन न हो हतारिन्छ ।यो हतारोलाई भुल्दै काठमांडू मल बाट टुँडिखेल नियाल्चु ।
अन्नत: धूमील दृष्यबिच धूलो र धुवाँलाई छिचोलेर बत्तिका मधुरा प्रकाशहरु शहरमा टिलपिलाउन थाल्छन ।अनि म गमक्क गम्किन्छु ।यसरी गम्किनुमा मलाई बिछट्टै मज्जा छ । किनकी अब उसलाई भेट्ने समय निजिकिदै थियो ।

यी बिचमा हामीले फोनमा आफ्नो आवाज केहि पटक ठोक्काई सकेका हुन्छौँ ।भेट्ने स्थान पक्का भएपछी म उ भएको गन्तव्य पहिल्याउन ट्याम्पुसगै बबरमहल तर्फ अगाडी बड्छु ।
धुलाम्य काठमांडू ।मलाई सबैभन्दा धेरै डर नै यि धुलो/धुवाँ देखी लाग्दै छ ।जे जस्तो भए पनि यो हाम्रो शहर हो ।मैले कसैलाई भेट्ने प्रतिक्षा गरेको शहरलाई म कसरी नराम्रो भन्न सक्छु र !

वरिपरी मान्छेहरुको भिड छ ।
गाडी कुर्नेहरुको कोलहालयुक्त वातारण ।
हाम्रो पहिलो भेटभन्दा अगाडी अन्तिम पटक फोन सम्पर्क हुन्छ ।उसले बिजुली बजार पूल नजिकैको लोकेसन दिएकी थिई ।म त्यहिँ पुग्छु ।
अलिक परबाट हातले ईशारा गर्दै माक्स लगाएकी उ म नजिकै आईपुग्छे ।
म ति भिडहरुमा चुपचाप खडा छु ।मानौ ति भिडहरु हल्ला होईन, एउटा मौन मिलनको रोमान्चित दृष्य हेर्दै छन ।
अं, उसलाई यो भन्दा पहिले फोटोमा देखेको थिएँ ।
"मलाई भेटेर देखेपछि हजुरको बिचार नबदलियोस" उसले म्यासेजमा भनेको याद हुन्च ।म चित्रको(फोटो) तराजुमा मान्छे तौलन जान्दिन ।चित्रले चरित्र बताउदैन ।स्वभाव बताउदैन ।ब्यहोरा बताउदैन ।बस, मान्छे देखिन्च चित्रमा, अरु देखिन्न !
"संगतले हो मान्छे प्रतिको बिचार निर्माण हुने" -मैले उसलाई भनेको थेँ ।
उ फोटोमा देखिएकी भन्दा राम्री थी, ठीक मेरो सामुन्ने ।
पहिलो मिलनको पहिलो प्रहर ।
संकोच र उत्साह एकैपटक भैदियो त्यो साँझ ।
अनौठो क्षण !
मानौ, ल्याम्प पोस्टबाट बत्ति हाम्रै लागी खसिरहेको छ ।म त्यै ल्याम्प पोस्टको पोलमा खडा भएर चोरी-चोरी उसलाई हेर्छु । एक-अर्को प्रतिको कौतुहल जाग्दा हाम्रो आँखा जुध्छ ।केहि थान  लाज उत्पादन गर्छ मेरो मनले । म लजाएको बेला उसलाई  हेर्न सक्दिन, आकाश नियाल्छु ।
खै किन हो, उ मुसुक्क मुस्कुराउथी ।
यो महा-आनन्दानुभूतिको बयान शब्दले ब्यक्त गर्न सक्दैन सायद !

उसले संगै खाजा खाने आग्रह गरेपछी हामी नजिकैको ए-वान क्याफेमा छिर्छौँ । कफी र मम अडर हुन्छ ।उ टेबल मुनी हेरिरहन्छे ।उसले नियालेर होला त्यो भुँई मलाई हेरुँ-हेरुँ लाग्छ ।मान्छे जस्तै उसले हेरेको भुईँ पनि प्रिए लाग्छ ।म पनि उसले नियाले तिरै आँखा डुलाई रहन्छु ।
गफ कम र हेराहेर ज्यादासंगै प्लेटको मम रित्तन्छ ।कपको कफी रित्तिन्छ ।ग्लाँसको तातोपानी पनि रित्तिन्छ ।यो संगै हामी बसेको टेबल रित्तिन तयार हुन्छ । साँझ छिप्पिएसंगै अर्को हतारो हामीबिच तेर्सो पर्छ ।उसलाई गाडी चडेर घर पुग्नु छ ।मलाई पनि रुम ।

-"हिडेर जाम ल कोटेश्वर सम्म ?"
मैले चाहेको तर आग्रह गर्न नसकेको भावमा उ आफै मलाई प्रस्ताव गर्छे ।
-"हुन्छ ।"
म संयमित हुन्छु ।धेरै प्रफुल्लित देखिएर हौसिनु मलाई ठिक लाग्दैन ।तर मन धेरै रमाएको थियो उसको आग्रहले ।
र हामी संगै हिड्यौ ।

धूलोले लपक्कै ढाकेको शहर, हामीलाई बानेश्वर देखी कोटेश्वर छिचोल्नु छ । काठमांडू पुरै (डस्टमान्डु)धुलोमान्डुमा परिवर्तन भैसकेको रहेछ । बाटैभरि सवारी साधनको कर्कश आवाज र उडिरहेएको धुलो छिचोल्दै हामी लम्किरहन्छौँ ।
तिनकुने पुग्दा आकाशमा ताराहरु नाचिरहेका थिए ।उसले मलाई तीनआँख्ले तारा चिनाई ।मैले पहिलो पटक तीनआँख्ले तारा चिने ।उसले चिनाएको तीनआँख्ले तारासंगै अरु ताराहरु झन मोहक चमकमा मस्त थियो । एउटा प्रेमयात्रामा मस्त भएझैँ मदहोश थिएँ म ।

उसलाई छोडेर फर्कन पर्ने भयले कोटेश्वर किन किन मलाई मन परिरहेको थिएन ।म चाहन्थे बाटो अझै लम्बियोस साथ अझै लम्बियोस ।संगै केहि कदम साथ हुन पाईयोस ।सायद उ पनि चाहन्थी होली ।
साँझ झपक्क छिप्पिसकेकोले होला, हाम्रो चाहना अधुरै रह्यो ।जे चाहना मन पर्दैन त्यो स्वीकार्न पर्ने बाध्यता आईपर्छ ।भयो तेस्तै ।गाडी आयो । उ चढी ।मेरो मन उसंगै गाडीको भिडमा च्यापिएर यात्रा गर्यो, पेप्सीकोला-काँढाघारी सम्म ।

उसलाई गाडीमा चढाएर रित्तो ज्यान लिएर फर्कनै मन थिएन मलाई ।जसै फर्कनु त छंदैछ । एउटा गन्तव्यमा रहि रहनु भनेको अर्को गन्तव्य तय नगर्नु पनि त हो । म मोडिएँ ।
उसकै स्मृतिमा रमाउदै उसंगै हिडेको बाटो ।कोटेश्वरबाट फेरी हिडेरै बानेश्वर फर्किएँ  ।

बाटोमा "पेप्शीकोला-काँडाघारी जाने हो" आवाज दिएर गाडीमा ढ्याप ढ्याप पार्दै गुडिरहेको अर्को बस पनि प्रिय लाग्न थाल्यो त्यसपछि ।

बाटैभरी उसैले देखाएका तीनआँख्ले तारा नियालिरहेँ ।ती ताराहरु पहिला देखिनै तेती चम्किला थिए वा आज उसले देखाए पछि चम्किए, म नितान्त रनभुल्लतामा अलमलिदै रुम पुग्छु ।
बिस्तारै झ्याल खोल्छु, आकाश हृदयप्रफुल्लित मुद्रामा धपक्क मुस्कुराएको छ ।ताराहरु ईलेक्ट्रिसियनले मिलाईदिएको झिलमिले बत्तिझैँ पालैसित मोहक दृष्यमा चम्किरहेका छन् ।

स्मृतिमा म उसलाई पटक-पटक घुमाउछु ।म पटक-पटक घुम्छु ।पटक-पटक उसका भावनाहरु सम्झन्छु ।उसका अस्थिर यादहरु

No comments:

Post a Comment