Thursday, 24 November 2016

दुबई - नेपाली पार्क र गन्थन

-- राम न्यौपाने

बरदुबई । दुबईको पब्लिक बस स्टेसन ।
त्यहाँबाट एउटा रोड कट्ने बित्तिकै पुराना शैलीका ऐतिहासिक अरबिक घरहरुले पार्कलाई सुन्दर बनाउन मद्धत गरिरहेका देखिन्छन ।

ठिम्काना परेका रुख बुट्यानहरु छेवैमा समुन्द्रको वहावमा हुत्तिने हावा, ठक्कर खाँदै हल्लिएर शितलतासंग रमाउन पुग्छ । भुईँमा रोपिएका चाईनिज दुबोले रम्बल छोपेर तातो हुनबाट रोकीरहेको छ पार्कलाई । पार्क मुनी 'दुबई मेट्रो ट्रेन' आफ्नै गतिमा हुईकीरहन्छ ।

अलिक कदम पर हिन्दुहरुको लागी मन्दिर छ । ईस्लामिक देश युएईमा यो एउटा एक्लो हिन्दुहरुको पुज्य आस्थाको केन्द्र हो ।अगरबत्ती र कस्तुरी धुपहरुले सुगन्धित स्थान !

शुक्रबार सार्वजनिक बिदाको दिन ।सेक्युरिटी, हस्पिटालिटी, हस्पिटल र अत्यावस्यक सेवा प्रदायक कम्पनि बाहेक अन्य क्षेत्रमा काम गर्ने सबैको छुट्टीको दिन ।शुक्रबार, जसलाई अरबिमा 'जुमा' भनिन्छ ।
लगातार सात मैनाको बाह्र घन्टे डिउटी पछी अनेक बाहना गरेर जुमामा दुबई पुगेको छु । दुबईको पनि नेपालीहरुको मुटु भनेर चिनिने बरदुबाई-नेपाली पार्कमा ।
दिन छिप्पिँदै जाँदा पार्कमा मान्छे पनि भरिदैँ गए । मान्छे संगै कुरा पनि भरिन थाले । जताततै नेपाली बास्ना मौलाउन थाल्यो ।हावा पनि नेपालीलाई ठोक्किदैँ आएर होला, शितल बने जस्तो !
नेपालीले फेरेको स्वासको गन्ध पनि मिठास लाग्ने ।अक्टोबरको अन्तिम चल्दै गर्दा गर्मीले अरबलाई शितलतामा बदल्दै थियो
शितलतासंगै एकैछिनमा ठूलो भिड तयार भो नेपाली पार्कमा । कुनै आन्दोलनको तयारी स्वरुप एकठ्ठा भएझैँ ग्रुप ग्रुप बन्दै गयो । तर न नारा गुन्जियो न बिरोध भयो ! न वरिपरी फोहोर थुप्रिए ! सबै नेपाली जमघट गरेर सुख-दु:ख साट्ने ब्यवस्थित थलो बन्यो । जता पनि नेपाली ठोक्किन थाले । 

नेपालमा कोही ठोक्किदाँ घुर्दै रिसले झर्केर पिटुँला झैँ गर्ने हामी नेपाली यहाँ ठोक्किँदा मुसुक्क मुस्कुराउन सिक्ने भएछौँ । बरु यसरी ठोक्किदाँ सप्रेम संबोधनका साथ परिचय आदान प्रदान गर्ने क्षमता बिकास भएछ हाम्रो । परदेशले नेपालीहरुलाई प्रेमील बंधनमा बाँद्धो पो रहेछ बरु !
भर्खरै सकिएको दशैँमा आफ्नो परिवारबाट टाढा रहन पर्दाको पीडाले सबैलाई छोपेको थियो । केही पर देखिएको 'ब्रुज खालिफा' भन्दा अग्ला समस्या र बाध्यताका टाओरहरु सबैसंग थिए । र पनि अर्को एक नेपाली भेट्न पाउदा आफ्नै मान्छे भेटे जस्तो महशुष हुदो रहेछ ।

प्राय नेपाली मात्रै जमघट हुने स्थान भएपछि उक्त ठाउ वरिपरीलाई 'नेपाली चोक' भनिन थालिएको रहेछ । अझ एक नेपाली अर्को नेपालीसंग भेटघाट र सुख दु:ख साट्ने थलोमा रुपान्तरित हुदैँ जाँदा अचेल 'नेपाली प्रेम बगैँचा' (लब पार्क) समेत भनिदो रहेछ उक्त पार्कलाई ।

जहाँ जता पुगे पनि नेपालीसंग नेपाल पुग्दो रहेछ ।हामीले भोगिरहेको अवस्था पुग्दो रहेछ । बिकासले चरम उचाई छोएको युएईको एउटा स्टेटमा अभाव केहीको छैन । तर जव नेपाली भेटिएर गफिन थाल्छन तव, नेपालको अभावहरु, अबिकास,बेथिती छरपस्ट पोखिन थाल्ने । सबैसंग एउटै सामुहिक चिन्ता हुन्थ्यो, नेपालमा रोजगारी, स्थिरता, बिकास र श्रमको उचित मुल्य भैदिए हामी किन परदेशीन बाध्य हुन्थ्यौँ र !

म चुपचाप फरक-फरक ग्रुपका गन्थन सुन्छु । ग्रुप फरक भए पनि समस्या र सार एउटै हुन्थ्यो ।स्वार्थ केन्द्रित राजनितिले देशलाई निल्दा श्रम गरेर पेट पाल्नेहरु बिदेशिन बाध्य हुनुको पीडा ओकिलिएका हुन्थे । पार्कमा दुवो र भुईँ फूलहरुको मोहकता भन्दा नेपालीहरुको दु:खका बिस्कुन असरल्ल फिजिएको भान हुन्थ्यो ।

म्यानपाओरले एउटा काममा भनेर टन्न पैसा असुलेर यहाँ अर्कै काममा पर्ने र झन तोकेको सेलरी नपाई जबरजस्ती चुपचाप जोतिन पर्दा टक्कनटाठ पल्टिएका दाजुभाईहरुको पीडाको हिसाब बेग्लै सुनिन्छ यहाँ । भर्खर बिवाहमा बाधिएका नवदम्पतिहरु मध्य एउटा बिछोडिएर आउनु पर्दाको पीडा दर्दनाक सुनिन्छ । ति माथि दुधे बालखलाई अर्कैको साहारामा छोडेर पर्देशिन बाध्य आमाहरुको बेथाले मलाई बिक्षिप्त बनाउन पुग्छ । म एकनास समुन्द्र हेरेर टोलाउछु । मनबाट उर्लीसकेको आशुलाई आखाँले रोक्न खोज्छु । आठ दश पटक आँखा चिमचिम गर्छु । आशुँ आफ्नै बाटो फिर्ता हुन्छ ।बगेर बाहिरिन नपाए पछि मन धेरैबेर सम्म अमिलिएर निचोरि रहन्छ ।

त्यो भिडहरुको आवाजमा मलाई एउटा कुराले जोडसंग हृदयमा ढ्याङ्ग्रो बजायो । गफ नेपाली राजनितिकै बारे चल्दै थियो ।

यहाँ पनि प्राय मुख्य राजनितिक दल भनिनेका संगठन रहेछन । ति संगठन के कामका लागी थिए मलाई चासो रहेन ।आफ्ना नेताहरुलाई अतिथीको रुपमा निम्ताएर युएई घुमाउन र  भाषण सुन्न गठन भएका यस्ता संगठनहरु प्रति मलाई मोह छैन ।
नेताहरु आउछन । दुबई हेर्छन ।यहाँ मात्र हैन, युरोप अमेरिका पनि हेर्न पुग्छन । देशकै खर्चमा । त्यहाँको बिकास हेर्छन ।गमक्क पर्छन । तर बिकास सिक्दैनन ।सिके पनि देशको लागी प्रयोग हुन्न । आफ्नो घर र बैभवका लागी प्रयोग गर्छन । उनका घर आलिसान हुन्छन ।
उनीहरुका सन्तानले पुर्वाधार नपुगेको सरकारी स्कुलमा कमजोर शिक्षा लिन पर्दैन !उनका सन्तानले अरब आईदिन पर्दैन ।म्यानपाओरबाट ठगिन पर्दैन । कोरियामा हड्डि खियाउन जान पर्दैन । मलेसियामा लुटिन पर्दैन ।साउदीबाट लास भएर बाकसमा फर्कन पर्दैन । समग्रमा नेपालमा नेताहरुले कुनै अभाव झेल्न पर्दैन । कहिल्यै पनि पर्दैन । अझ उनीहरुका सन्तान दर सन्तानले पनि पर्दैन । न उनका घरमा ग्यास रित्तिन्छ न डिजेल/पेट्रोलको अभावमा सवारी रोकिन्छ ! न उनका परिवारले सुत्केरी बेथाले च्याप्दा अस्पताल नपुग्दै बिच बाटैमा ज्यान अर्पण गर्दिन पर्छ ! न पैसाको अभावमा ज्यान गुमाउनु पर्छ न उपचार रोकिन्छ !

हामीलाई हर ठाउमा मारेर उनीहरु बाचीरहेका छन । त्यसको क्षतिपूर्ति स्वरुप हामीलाई मिठा भाषण र आस्वासन दिन्छन । हामी गडगडाहट ताली पिट्छौ । जए-जएकार गर्छौँ ! उनकै चालिसा पढ्छौ । फेसबुक र टुईटरका भित्ताहरुमा हामी तिन्लाई भगवान झैँ पुजा गर्छौँ । किन गर्छौँ भनेर सोच्न हामीसंग एउटा महत्वपूर्ण तन्तु छैन सायद ! 

हुन पनि नेताहरुले उल्लेखित समस्या भोग्न परेको हामीले कहिल्यै पनि समाचार सुन्न पाएको छैनौ । यस्ता बिभत्स खबर सुन्न/भोग्न पर्ने चाहाना कसैको छैन र कामना गरौँ नहोस पनि । र पनि हामीमाथी नै बज्रिन्छ नियती ! हामी माथी नै खनिन्छ पीडाको भेल ! हामी नै बग्छौ समस्याहरुमा ।हामीलाई थिच्छ दुखको भारीले ! किनकी हामी भुईँ मान्छे हौँ नेता हैनौँ ।ब्यापारी हैनौ । कर्मचारी, प्रशासन हैनौ । उनीहरुले जस्तो जनताको सेवाका नाममा जनतालाईनै कष्ट दिएर ब्यक्ति सपन्न हुने छुट श्रम गरेर जिन्दगी धान्ने मजदुरलाई नहुँदो रहेछ । श्रमलाई पुज्नेहरुले सहन पर्ने रहेछ यि सब आपतहरु त !

देशबाट ठगिदै यहाँ सम्म आईपुग्दा पनि हामीलाई ठगिन छुट रहेनछ केरे । हर बाहानामा ठगिन्छौँ ।यहाँ पनि ठूला मान्छेहरुकै बिगबिगी रहेछ ।नेपालबाट टुरिस्ट भिजामा जागिर लगाईदिने भनेर लाखौँ असुल गरि ल्याईपुर्याई बिचल्लि पारिदिने नेपाली नै हुदा रहेछन । जहाँ पुगे पनि हामी हाम्रै मान्छेबाट बढी असुरक्षित रहेछौ ।
यस्तै यस्तै निचोडका गफ भए दिनभर, नेपाली पार्कमा । कति सजिलै नवआधुनिक दास बनेका रहेछौ हामी त ! अभाव र समस्याले हामीलाई यसरी थिलथिलो बनाउदो रहेछ की, हामी अरुको प्रलोभनको जालमा फसेको पत्तै नपाई सकिने रहेछौ ।
फेसबुक र ईन्स्टाग्राममा पोस्टिएका फोटाहरुले यहाँको ब्यथा बोल्दैनन । तर आफ्नो पीडा लुकाएर भए पनि बल्ल बल्ल पाएको छुट्टीमा खिचेका फोटाहरुले रंगिन्छ सामाजिक सञ्जाल । अपबाद बाहेक, फोटोहरुमा हाँसेको जस्तो, खुसि भएको जस्तो , हाकिम बनेको जस्तो, मालिकै भएजस्तो जीवन पक्कै हुदैन परदेशमा ।
ती फोटोहरुले फगत कृतिम मिठास र भर्चुवल आत्मसन्तोषको स्वाद पस्किएको हुन्च । नेपालबाट सतहि मनोरन्जनको ब्याख्या गरिदिने जमात बडे पनि रियालिटीमा नेपाली, दास नै बन्न बाध्य छन यहाँ ।

म बिल्कुल निशब्द हुन पुग्छु ।सबैले भोगेको समस्या त आफ्नै समस्या जस्तो लाग्दो रहेछ ।ति पीडाहरुमा आफैँ समाहीत भएजस्तो ! ति नेपाली मात्र हैनन, मेरा आफ्नै सहोदर दाजु-भाई/दिदी-बैनी र छिमेकी जस्तो लाग्दो रहेछ । मैले पहिलो पटक आफुलाई यस्तो निरीह प्राणी ठाने की, म कसैलाई कुनै सहयोग गर्न नसक्ने अवस्थाको एउटा जड बस्तु समान रहेछु । अनायसै, पौराणीक मिथ वा फिल्मका नायकझैँ  हुन पाए नि सबैलाई उम्काउथेँ जस्तो कल्पनाले ढाक्दो रहेछ मन ।

मध्य दिनको नेपाली पार्कको बसाईँले मन एकोहोरो हुडल्लिन थाल्छ ।मानौ आक्रोसको अग्नी ज्वालाले जलाउन थाले झैँ डढ्न थाल्छु म । आफ्नै पीडाहरुले पोल्दा कतै लगेर मनलाई चिसो पानीमा चोप्न पाए हुन्थ्यो झैँ हुदो रहेछ ।
बाध्यताहरुको भुङ्ग्रोमा अरुकै सम्पन्नताको लागी पिल्सिन बाध्य भएका तमाम परदेशी नेपालीहरुको जमघट र सुख दु:ख बाँड्ने चौतारी 'नेपाली पार्कमा' आफ्नैहरुको सामिप्यतामा हराउन पाउनु पनि एउटा छुट्टै मिठास रहेछ । अब त्यो मिठासमा आफुलाई अलमल्याउने समय मसंग नासिदै थियो ।
समय कम भए पनि यी पीडाहरु भुल्न कतै भागुँ वा हराउँ झैँ भयो ।
र अरु तिन जना साथी संगै म निस्किएँ ।
केरी पर 'ममजार बिच'बाट पारीपट्टि सारजाहामा अग्लिएर आकास चुम्दै गरेका टाओरहरु हेर्दै  तिनै ब्याग्राउन्ड बनेका केही थान उधारा कृतिम मुस्कान सहितका फोटोहरु क्यामारामा कैद भयो ।
समुन्द्र बराल्लिएर फराकिएझैँ म पनि समुन्द्री किनारबाट पर धेरै पर अनन्त सम्म तन्किरहेको अरबियन सागरलाई हेरेर टोलाई रहेँ आफैँसंग केहीबेर !  

फर्कदाँ बरदुबईको 'नेपाली पार्क पुरै 'लब पार्कमा' रुपान्तरित भैसकेको थियो ।अलमलिने समय थिएन । कठीन बाहाना बुनेर प्राप्त भएको बिदा मसंग सकिएको थियो अब । भोलीपल्ट बिहानै ५ बजे डिउटी पुग्नु पर्ने हतासले म दुबई र 'नेपाली पार्क' अनी तमाम पीडाहरु त्यँहि बिसाएर आबुदाबी फर्किएँ । म फर्किए पनि मेरो मन उतै हराई रह्यो नेपाली पार्ककै नेपाली दर्दहरुमा !

No comments:

Post a Comment