Saturday, 8 October 2016

लघुकथा : हत्यारा



भर्खरै हत्या गरिएका केही थान रहर र चाहनाहरु कात्रोमा बेरिएका छन । एकोहोरो शंखको आवाज गुञ्जित छ । मुटु बेतोडले काँप्दै छ मेरो !

केही आफ्नै सपनाहरु संगै मलामीमा हथकडी सहित पुर्याईएको छ मलाई समाधिस्थलमा ।
लासलाई भन्दा मलाई हेर्नेहरु ज्यादा छन । केही भिडहरु देख्दै छु । मलाई हत्याको आरोप लगाईएको छ,म अवाक छु । मेरो वेदना सुन्ने जमात छैन । फेरी शंख बज्छ एकोहोरो,मेरो कान टिनिन्न् भयो अब !
अभियुक्तलाई दागबत्ति दिन पुलिस अफिसरको आग्रह पछि मरो हथकडी खोलीयो । म आफ्नै रहर र चाहनाहरुको दागबत्ती दिदैँ छु । सायद मसंग संवेदना रहेन अब !
समाधि पछि,
सिधै जीन्दगीको कठघरामा खडा गरियो मलाई ।
केही कालाकोटे बुज्रुकहरु उन्कै हत्या गरे जसरि मलाई कुटिल नजरले नियाल्दै छन् ! घुर्दैछन । म मौन छु । चुपचाप !

म कठघरामा खडा छु ।गीता थमाईएको छ । साँचो बोल्न र झुट नबोल्न सुझाईएको छ ।
कसम खाँए गीता र तामाको खड्कुँलो छोएर । “जे बोल्चु सत्य बोल्चु” भने मैले !

अनि यसरी मैले आरोप कबुल गरेँ ;

जीन्दगीको कठघरामा खडा भएर गीता छुँदै मैले भने , “हो ,,! मेरो रहर र चाहनाहरुको हत्यारा ‘म’ हुँ !”

बल्ल मेरो बिपक्षी वकिल मुसुक्क मुस्कुरायो र निवेदन गर्यो न्यायाधीशलाई । “श्रीमान, आरोपीले हत्या कवुल गर्यो । उचित फैसला सुनाई पाउँ ।”

बिभिन्न दफा, धारा र उपधाराहरु बाट शब्द सापट लिए न्यायाधीशले । के के भने मैले सम्झन सकिन । तर यत्ति भनेको सम्झन पुगेँ “निज आरोपीलाई आफ्नै रहर र चाहनाहरुको हत्या अभियोगमा आजैको मितीबाट लागु हुने गरि ‘जीवनभर पश्चाताप गरेर बिताउन पर्ने’ सजाँए सुनाईएको छ ।”

ढ्याक् ढ्याक् ढ्याक् —
                       December 12, 2015

No comments:

Post a Comment