Thursday, 7 July 2016

जीवित सपना


त्यो बिहान भगवानको एउटा परम भक्त नदिमा स्नान गर्दै थिए ।स्नान पबित्रताको लागी मात्र नभएर स्फुर्तिका लागी पनि जरुरी हुन्छ भन्ने मान्यता ति भक्तलाई ज्ञात छ ।उनलाई त्यो दुईटै प्राप्त थियो र उनी सदा झैँ आज पनि बिहान स्नान गर्दै थिए किनार नजिकै । तर जव उनी अन्तिम पटक पखाल्लिन पानीमा डुवेर उत्रिए, एउटा मान्छे नदीमा माथीबाट बग्दै आईरहेको देखे ।उनी झटपट अब स्नान छोडेर माथी हेर्न थाले ।साच्चिकै रहेछ ।उनलाई त्यो बग्दै गरेको दृष्य झुट होस जस्तो लाग्यो ।क्षणिक भ्रम बाहेक, सत्य कदापी झुट हन सक्दो रहेनछ ।झुट कदापी सत्य हुन सक्दैन । तेस्तै भो । त्यो सत्य थियो ।आँखा अगाडी एउटा किशोर केटो बग्दै थियो ।
बग्दै गरेको केटो “बचाउ बचाउ” भन्दै हुलुक हुलुक पानी मुखबाट निल्दै छ्याप्ल्याक-छ्याप्ल्याक पार्दै आत्तिरहेको थियो ।चिच्याई रहेको थियो ।बडो धर्म संकट पर्यो त्याहाँ ति भक्तलाई, किनकी उनी पौडन जान्दैनथे !
एउटा ज्यान मृत्युको सन्निकट नवजीवनको याचनामा थियो ।
केटोलाई बचाउने उत्कट चाहना छ भक्तको ।तर पौडीन नजानेसी उनलाई बडो पिर पर्न थाल्छ ।नदीमा फाल हालेर तैरने कला नभएपछि झन उस्लाई बचाउन नसकिने र आफ्नो पनि अन्त्य निश्चित हुने भएपछि बडो बिखलबन्द भयो ।
ति भक्तको दयालु मनले काम गरेन ।उनी भगवानका भक्त मात्र थिएनन मान्छेको पनि भक्त थिए ।मान्छे भित्रै ईश्वरीय शक्ती हुन्छ अनि मान्छे भित्रै राक्षसी स्वरुप हुन्छ भन्ठान्थे !त्यो केटोलाई बचाउन खोज्नु उनी भित्रको ईश्वर प्रकट हुनु हो ।
उनी दयालु पनि हुन ।दया हुनु राम्रो पक्ष मानिन्छ तर दयाले नहुने ठाउमा त्यो दया फगत बेर्थ हुदो रहेछ ।भयो तेस्तै । उनी हतास भए । हतासिएर त्यो केटोलाई बचाउन पनि सकिदैनथ्यो । भगवानको नाम जपे ।भगवान आएर बचाउने त संभावनै थिएन भन्ने पुर्ण ज्ञात छ उनलाई ।तर पनि भगवानसंग उन्ले पौडने कला मागेनन ।बरु बिकल्पको पार्थना गरे ।
खोज्न जान्नेहरुले बिकल्प अबश्य प्राप्त गर्छन ।
बिकल्प पहिचान गर्न प्रयास गर्नु पनि महा-कर्म हो ।
ओरी परी नियाले कोही थिएन ।थियो त केवल शान्त हराभरा रुखहरु । लतिकाहरु । नाचीरहेका चराचुरुङ्गीहरु ।माथी देखिने भिमकाय पहाडहरु ! पर छितिजमा टल्किरहेको जुगल हिमाल ।माथी आकाशमा खेली रहेका बादलका गुब्बाराहरु ।
यी सबै चिजले त्यो बगिरहको मान्छेलाई बचाउन सहयोग गर्ने पनि थिएनन् ।
धेरैबेर सोच्ने समय पनि कहाँ थियो र ?
केटो जोडले अत्ताल्लिएर पुच्च पुच्च मुखबाट पानी ओकल्दै छालसंगै हुत्तिएर उफ्रिदैँ बग्दै आईरहेको थियो ।

उनले जसरी पनि त्यो केटोलाई बचाउने प्रण गरे र दगुर्दै अलिक तल रहेको एउटा झोलुङ्ङे फट्के जो नदी वार पार गर्न बनाईएको थियो त्याँहा पुगे र एउटा लामो बलो निकाले काठको । त्यो लामो बलो निकाल्दा त्यो फटके काम नलाग्नि गरि बिग्रियो । तिनले त्यसको पर्वाह गरेनन ।
आखिर मान्छे बाँच्छ भने तमाम चिज बिगार्न तयार हुन्छौ हामी ।उनले त्यो कसर बाँकी राखेनन र बलो निकालेर तुरुन्तै नदीकिनार आए ।बिकल्प भेटेकोमा हर्श भयो हृदय । महा-मृत्युञ्जय मन्त्र जपे ।
केटो अन्तिम याचनामा थियो ।
उनले त्यो बलो नदीमा फ्याँके र आफुले टुप्पो तिरको भाग जोडले समाते र केटोलाई भने, “बाबु त्यो बलोमा जोड्ले समात म तिमीलाई तान्नेछु र नदीबाट उतार्नेछु हिम्मत नहार तिमी मलाई हेरी राख” ।
त्यो केटोले बलो भेट्न सकेन तर जीवन प्रतिको रौँचिरा जति्तिकै भए पनि आषा भेट्यो । उ बहुत थाकिरहेको थियो ।उस्का आँखा लोलाई सकेका थिए ।ति भक्त जोडले चिच्याउदै भन्दै थिए कि; “बाबु मलाई हेर, म जसरी पनि उतार्छु ,मलाई हेर” ।केटोले हात फैलायो र पनि बलो समात्न सकेन ।तर थोरै भए पनि हिम्मत समात्यो ।
आँट समात्यो ।
शाहस समात्यो ।
त्यो केटो नदीसंग बग्दै थियो अनि भक्त पनि किनारै किनार केटोलाई बलो दिँदै दौडिरहेका थिए ।फट्के धेरै माथी धुमिल भैसकेको थियो ।भक्तले लगाएको कछाड थिएन अब ।मजेत्रो मात्रै कन्दनिमा अड्किएको छ ।उनी नाङ्गो भएको पत्तै पाएनन ।र पनि उनी बलो समात्दै दौडीरहे ।
अब नदीमा भुमरी नजीग छ ।भक्तको अगाडी ठुलो चट्टान जहाँबाट अगाडी बड्न सकिन्न ।
त्यो भुमरीमा पर्यो भने केटो उम्कन सक्दैन । र चाहेर पनि ति भक्त त्यो चट्टान फोडेर वा नाघेर जान सक्दैनन । न त पौडिन नै सक्छन !
कस्तो अफ्ठेरो !
कस्तो परिस्थिति !
एकदम नजीगको बिभत्स करुण दृष्य !
उनले एउटा दीर्घ निश्वास लिए अब ।
लामो सुस्केरा हाले !
केटोले  आफुलाई बचाउने मान्छे अब तल जान नसक्ने ठम्याई सक्यो ।ति भक्तले अब केटो भुमरीमा परेर उम्कन नसक्ने बुझी सके ।बुझाई समान भयो अब ।मृत्यु नजिक देखियो । जे नजिक हुन्छ त्यो त्यति प्रीए हुदैन रहेछ ।चाहे आफ्ना मान्छे हुन चाहे मन्दिर/तिर्थ होस वा मृत्यु नै ! जे प्रिए हुन्न त्यो फेरी अक्सर स्वीकार्न बाध्य हुन्छौ हामी ।
बुझेर पनि नजिकको कुनै चिजलाई प्रीए बनाउने ध्याउन्न कम गर्छौँ हामी ।
तर केटो र ति भक्तले नजिकीएको त्यो संभावनामा प्रयत्न जारी राखे ।किनकी त्याँहा जीवन थियो ।
केटोले दीर्घ निश्वास लियो ।मानौ यसरी की, त्यो नै उस्को अन्तिम स्वास हो !
एक झमट हिम्मत गर्यो । भएभरको बल लगायो र बलो छेउ आउने चेष्टा गर्यो । ति भक्त पनि नदीमा हेलिए । केटोलाई बिस्वास भयो की, अब बलो समाउन सक्छु भन्ने !
बिस्वासले जीते पछि हिम्मत र आँट भरिदो रहेछ । ति भक्त नदीको बिचमा पुगीसकेका थिए बलो दिँदै ।पानीको बेगले खुट्टामा हानीरहेको थियो र पनि आँट र हिम्मतले जीतिरहेका थिए ।
केटोले बलो समात्यो बल्ल ! बलो समात्दा उसले जीन्दगी समातेको भान गर्यो । फेरी दीर्घ निश्वास लियो ।
तर ति भक्तले तान्न सकेनन ।उन्को सम्पुर्ण बल सकिसकेको थियो ।धरमर धरमर खुट्टा टेकि रहेका थिए । केटोले एउटा हातले बलो समातेर एउटा ढुङ्गाको चेपमा आफुलाई अड्याई रह्यो ।
ति भक्त लत्रक्क परिसकेका ।लामो स्वाँ स्वाँ गरिरहेका ।
मृत्यु भयाभह लाग्यो त्यसबखत, त्यसैले त जीवन प्रतिको प्रेम आशा बनेर साहारा दिँदै थियो त्याहाँ हिम्मतका साथ ।
केटो बाँचेको अनुभुतिमा एक हिम्मत बडाउछ अब र बलो समातेर ठेल्छ ।
ति भक्त पनि बचाएको खुसि सम्झदैँ हिम्मत भर्छन आफुमा । दह्रिन खोज्छन ।किन्चित खुट्टो दहरो हुन सक्दैन ।पानीको बेगले शिथील छन दुबै । तर जीवन प्रतिको आशाले जित्दै छ ।

अनेकन प्रयास पछि
केटोले बलो समातेर किनार पुग्न सफल भयो उसले जीवनको महा-दान प्राप्त गरेको अनुभुति गर्यो ।
ति भक्त किनार पुग्न कठीन अबस्थामा रहे ! तर केटोले हिम्मत हारेन र बलो बिस्तारै आफु तिर तान्यो र ति भक्तलाई एक हातले तानेर किनारमा ल्याई पुर्यायो ।
र अर्को दीर्घ निश्नास लिए दुबैले अनि बेहोस भयो किशोर।

“कसरी नदिमा बग्यौ बाबु ?” यो प्रश्न सोद्न सकेनन् ति भक्तले ।
“यसरी नदीमा फसेर हेलिएँ हजुर म” भनेर नदिमा पर्नुको कारण भन्न सकेन केटोले ।
मात्र दुबैजना पल्टिए ।
निशब्द !
क्लान्त बनेर !

केही समय पछि;
केही मान्छे भेला भएका छन ।
कोही रोई-कराई गरेको आवाज सुनिन्छ । केही मान्छे मलाई घोप्टो पारेर ढाडमा थिच्दै छन ।
आखाँ फत्रक्क गलेको छ । हेर्ने अभिलाषा चरम छ तर आँखा खुल्नै खोज्दैनन। चल्नै सक्दिन ।
एउटा मान्छे बोलेको सुन्छु “बाँच्ला त ?”
मुखबाट केही बाहिरिएको भान हुन्छ मलाई ।
“उ , उ , पानी वाक्यो”
“थिच थिच”
“नाडी छाम नाडी”
“ओहो कस्तो चिसो”
“उत्तानो पार”
यस्तै सुन्छु ।
मेरो मुखमा कसैले टम्म थुनेको छ ।मुख भित्र-भित्र खै के हो सलबलाउछ, हावा जस्तो ।
“एकछिन मुखबाट स्वास दिराख है” अर्को बोल्छ ।
म लामो स्वास फेर्छु ।
“ऊ बल्ल स्वास फेर्यो !”
मलाई मुखमा आफ्नो मुख जोडेर स्वास दिरहने मान्छे बोलेको सुन्छु फेरी । मलाई चल्न मन छ तर चटपटौनै सकिरहेको छैन ।बोल्न मन छ तर आवाज दमित छ । हेर्न मन छ तर कस्तो बोझिलो छ आखाँ ।
गह्रौँ !
ढक्कन खुल्नै कठीन ।तन्द्रावस्था हो या भ्रम हो मसंग खोट्याउन सक्ने सामर्थ्य छैन ।
मलाई मुखामा एकोहोरो स्वास दिई रहेको छ एउटा मान्छे ।
“अझैँ पानी छ पेटमा ?”
एउटा शंका भरिएको जिज्ञासा पेश भयो । मलाई बाको आवाजमा जिज्ञासा मिसिए जस्तो लाग्छ थाल्छ।तर ठम्याउन सकिरहेको छैन ।
“हुँदै छ” मलाई रेस्प्रेरेसन दिने मान्छेले जवाफ फर्काउँछ र फेरी मुखमा टप्प पार्छ ।
त्यो आवाज ठ्याक्कै मेरै आवाजमा बोलेको सुन्छु ।
हँ !
के हो यो ?
म कहाँ छु !
बिस्तारै आँखा खोल्चु ।हेर्छु ।दाईले मलाई रेस्पेरोसन दिरहेको ।बा उभि रहेको आमा पर डिलमा बसिरहेको ।दिदी निरास भएर मलाई नियाली रहेको ।छिमेकीहरु पनि देख्चु ।नचिनेकाहरु पनि देख्चु ।चिनेकाहरु पनि देख्चु ।

“समाधी बनाउन लागौँ अब ।”
“हुन्छ तेसै गरौँ “
परबाट यी आवाज कानमा ठोक्किन पुग्छन फेरी।
कोही रोईरहेको सुन्छु ।
अर्धचेतमा सुनेको कुरा सत्य हो या मिथ्या मलाई भान हुदैन ।
को हुन तिनीहरु ?
म भन्दा केहि पर एउटा मान्छेलाई पहेँलो कपडाले ढाकेर उत्तानो सुताईएको छ ।
मेरो समिपै आएर एउटा मान्छे बोलेको सुन्छु;
“बाबु तिमी बाँच्यौ तर तिमीसंगै नदीबाट निक्लिएका ति मान्छेलाई बचाउन सकिएन ।उनले प्राण त्यागे”
“हँ !”
“के हो यो ?”
“मलाई जस्ले बचायो उ नै बाचेन !”
म फेरी बेहोस हुन्छु ।
फेरी बिउझिन्छु ।
तर यो बिउँझाईमा म झसंङ्ग हुन्छु ।
ओहो !
कस्तो सपना !
‘जिवीत सपना !’
***
ज्यानलाई ओछ्यानबाट जुरुक्क उठाँउछु ।मोबाईल हेर्छु बिहानको पाँच बजिसकेको हुन्छ ।म त त्यो बाँच्ने केटो पो रहेछु ।
सपनामा मलाई बचाउनेले प्राण त्यागेछन । मलाई कस्तो खल्लो लाग्यो ।मन अमिलो भयो ।
ठ्याक्कै हाम्रो सोच र ब्यबहारसंग मिल्ने ! जो बचाउन आँउछ उस्को अन्त्य हुन्छ या हामी उसलाई मारेर मात्र बाँच्न सक्छौँ अथवा उ मेरेर मात्र हामीलाई बचाउन सक्छ ! आफु बाँचेपछि बचाउनेको मत्लब गरिन्न नि यहाँ !

No comments:

Post a Comment